एमाले १० औँ महाधिवेशनकाे तयारी पूरा, प्रतिनिधि आउने क्रम सुरु

छिनोफानो   बिहिबार ०९, मङि्सर २०७८ ०२:४०

चितवन – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनको सबै तयारी सकिएकाे छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सबै तयारी सकिएकाे आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । 

जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न ठाउँमा स्वागत द्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्द सत्र हुने हल निर्माणसहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो । मङ्सिर १० गते उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च, सेल्फी प्वाइन्ट, गैँडाको मस्कट निर्माणसहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताउनुभयो । जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागत द्वार निर्माण गरिएको रावलले बताउनुभयो । 

राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजापताका राखिएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्द सत्र हुने स्थानलाई सिँगारिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरिबाट पाँच लाख जनसहभागिता जनाउने गरी समन्वय भइरहेको रावलले बताउनुभयो । 

नेकपा एमालेको महाधिवेशनमा आउने दुई हजार दुई सय ९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार पाँच सय जनाका लागि आवास व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवम् सङ्घीय सांसद कृष्णभक्त पोखरेलले बताउनुभयो । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधि आउने क्रम सुरु भएको पोखरेलले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु