आज ‘जवाद’ चक्रवातको प्रभाव, भोलि अर्को प्रणाली थपिंदै : बर्षा र हिमपातको सम्भावना

छिनोफानो   शनिबार १८, मङि्सर २०७८ ११:०७

बंगालको खाडीको मध्य पश्चिम भू–भागमा ‘जवाद’ नामको सामुन्द्रिक चक्रवात बनेको छ । सो चक्रवात आज विहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर–पूर्वतर्फ सर्ने मौसमविदले बताएका छन् ।

सो चक्रवातका कारण नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार त्यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश–१ , प्रदेश–२ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ । भने भोलि आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक-दुई स्थानहरूमा भारी हिमपातको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको छ ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई यातायतलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु