अध्यादेश प्रतिस्थापन विधेयक सदनमा टेबुल

छिनोफानो   शुक्रबार २८, भदौ २०८१ १०:२९

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ । 

चालु आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउने तयारीमा जुटेको प्रदेश सरकारले बिहीबार बसेको प्रदेश सभा बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक टेबुल गरेको हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अध्यादेश प्रतिस्थापन विधेयकलाई सदनमा टेबुल गर्नुभयो । सो क्रममा उहाँले बजेट र त्यससँग सम्बन्धित ऐन कानुन पास हुन नसकेपछि उत्पन्न शून्यताको अवस्था भङ्ग गर्न र राजस्व सङ्कलन नियमित गर्न प्रदेश सरकारले अध्यादेश ल्याउनु परेको बताउनुभयो । 

यसै गरी मन्त्री थापाले महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन २०७९, प्रदेश लोक सेवा आयोगको तृतीय वार्षिक प्रतिवेदन र आव २०७९/८० को मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुभएको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनलाई छलफलका लागि सार्वजनिक लेखा समिति र प्रदेश लोक सेवा आयोग तथा मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । 

यसैबिच प्रदेश सभामा ढ्यापढ्यापे समय माग गरेर प्रदेश सभा सदस्य धर्मराज पाठकले कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको काम र तीन शय्याको अस्पताल यथाशीघ्र अगाडि बढाउनका लागि सङ्घ र प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ । 

उहाँले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसम्बन्धी विधेयक प्रतिनिधि सभाको विषयगत समिति रहेको भन्दै सो विधेयक चाँडै पास गर्न आग्रह गर्नुभयो । स्वास्थ्यको विभिन्न सूचकमा निकै पछाडि परेको सुदूरपश्चिममा एमबिबिएस पढाइको कोटा नदिएर राज्यले यस प्रदेशलाई विभेदकारी नीतिले हेरेको उहाँको भनाइ थियो । 

विश्वविद्यालय बनाउनका लागि पाँच अर्ब बढी लगानीको भौतिक संरचना बनिसक्दा पनि राज्यले हेपेको भन्दै पाठकले प्रश्न गर्नुभयो, “यो प्रदेशवासी छात्राछात्रले आफ्नै भूमिमा एमबिबिएस कहिले पढ्न पाउने ?”

सुदूरपश्चिममा सुलभ स्वास्थ्य संस्था नहुँदा यस प्रदेशवासीले स्वास्थ्योपचारका नाममा भारतको लखनउ, दिल्ली, बरेलीमा गएर धेरै पैसा खर्च गर्नु परिरहेको उहाँको भनाइ छ । गेटामा छ सय शøयाको अस्पताल सञ्चालन गर्न सक्ने भौतिक संरचना बनिसके पनि तीन शøयाको अस्पताल पनि सञ्चालन नहुनु विडम्बना रहेको पाठकले उल्लेख गर्नुभयो । उहाँले यो विषय प्रदेशको साझा विषय रहेकाले प्रदेश सभाबाट साझा सङ्कल्प प्रस्ताव गर्न आग्रह गर्नुभयो । 

यसै गरी अर्का प्रदेश सभा सदस्य जानकी पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको काम अविलम्ब अगाडि बढाउन प्रदेश सरकारको धारणा मागसहित ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु