राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान जारी

छिनोफानो   शनिबार १८, मङि्सर २०७८ ०१:००

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो ।

भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित समयमै सक्ने लक्ष्य रहेको निर्वाचन समितिले जनाएको छ ।

पूर्वनिर्धारित समयमै मतदान सुरु हुने आशमा प्रतिनिधिहरु बिहान सात बजेदेखि नै लाइनमा बसेका थिए । तर मतदान सुरु नहुँदा भोकभोकै लाइनमा बस्नुपरेको गुनासो कतिपय प्रतिनिधिहरुले गरेका छन् ।

अध्यक्ष पदमा विद्युतीय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको छ । अध्यक्ष पदका प्रत्यासीद्वय कमल थापा र राजेन्द्र लिङ्देनले सुरुमा मतदान गरेर निर्वाचन सुरु गरे । त्यसपछि अन्य प्रतिनिधिहरु पनि मतदानमा सहभागी भएका छन् ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।

समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु