सरकारको पूर्ण खोप लगाएकालाई बुस्टर डोज दिने तयारी

छिनोफानो   सोमबार २०, मङि्सर २०७८ ०८:१४

सरकारले कोभिड– १९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर डोज दिने तयारी गरेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको त्राससँगै स्वास्थ्य मन्त्रालयले बुस्टर डोजको अभियान सञ्चालन गर्न लागेको हो ।

‘मंसिरको अन्तिम साता वा पुसको सुरुबाट बुस्टर डोज दिन सुरु गर्छौ’, आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भने, ‘प्रदेश, स्थानीय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत देशभरका १६ हजार ठाउँबाट अभियान सञ्चालन हुन्छ । सरकारी संयन्त्रलाई मिलाएर योजना सार्वजनिक गर्छौ ।’

पूर्ण खोप लगाएकालाई सोही कम्पनीको अर्को एक डोज थप्नुलाई नै बुस्टर डोज मानिएको छ । पूर्ण खोपका लागि जोन्सन एन्ड जोन्सनको एक डोज मात्रै लगाए हुन्छ भने अन्य कम्पनीको दुई डोज लगाउनु पर्छ । मन्त्री खतिवडाले बुस्टर डोज दिनेबारे मन्त्रिपरिषद्मा पनि छलफल भइसकेको बताए । अघिल्लो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले पूर्ण खोप लगाएकालाई बुस्टर जोड चलाउन निर्देशन दिएको उनको भनाइ छ । ‘पूर्ण खोप लगाएकालाई अर्को डोज थप्नु नै बुस्टर डोज हो । तेस्रो डोज लिइयो भने अझै सुरक्षित भइन्छ भन्ने छ । ओमिक्रोनको त्रासबीच हामी पनि यसलाई प्रयोगमा लैजाँदै छौँ,’ मन्त्री खतिवडाले भने ।

विश्वभर अहिलेसम्म कुल २.८ प्रतिशतले बुस्टर डोज लगाएका छन् । अमेरिका, बेलायत, इजरायललगायत देशमा यसलाई तीव्र पारिएको छ । उच्च संक्रामक मानिएको ओमिक्रोन भेरियन्ट आएसँगै ती देशहरूले बुस्टर डोजलाई प्राथमिकतामा राखेका छन् । दक्षिण एसियामा छिमेकी भारत र श्रीलंकामा पनि यो भेरियन्ट पुष्टि भइसकेको छ ।

संसदीय समितिले छुटेका नागरिकमा खोप पु¥याउन, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई घरमै पुगेर खोप सेवा दिन सरकारलाई निर्देशन दिएको छ । भारतबाट आउने नागरिकलाई प्रवेशका लागि खोप कार्ड र पिसिआर रिपोर्ट अनिवार्य गर्न र ओमिक्रोनको सम्भावित जोखिमसँग लड्न पूर्व तयारीमा लाग्न पनि भनेको छ ।

लक्षित समूहका ३७ प्रतिशतले मात्रै लगाएका छन् पूर्ण खोप, ५६ प्रतिशतले एक डोज पनि लगाएका छैनन् । जोन्सनको सिंगल डोजसहित हालसम्म ८६ लाख ९७ हजार नौ सय ८९ जनाले मात्रै पूर्ण खोप लगाएका छन् । १६ लाख ५४ हजार आठ सय ५६ जनाले पहिलो डोज मात्रै लगाएका न्। सरकारले १२ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । जुन जनसंख्या दुई करोड ३२ लाख छ । यो आधारमा लक्षित समूहका ३७ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन् । लक्षित समूहका एक करोड २९ लाख अर्थात् ५६ प्रतिशतले एक डोज पनि खोप लगाएका छैनन् ।

‘बुस्टर डोजले कोभिड संक्रमण र मृत्युदर घटाउने पुष्टि अध्ययनहरूले गरेका छन् । त्यसैले नेपालमा पनि बुस्टर डोज लगाउनु राम्रो हो । तर, अझै पनि लक्षित समूह नै खोपको पहुँचबाहिर छ । उनीहरूलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यक देखिन्छ,’ उनले भने । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई भने सरकारले खोप लगाउने योजना नै बनाएको छैन ।

स्वास्थ्यमन्त्री खतिवडाले सहरी क्षेत्रमा खोप लगाउने ८० प्रतिशत र गाउँमा २० प्रतिशत रहेको बताए । खोपकेन्द्र बढाएर यसलाई प्रभावकारी बनाउने योजना सुनाए । ‘१६ हजार केन्द्रबाट सेवा दिँदा पनि अपेक्षाकृत नतिजा आएन भने जनगणना गर्दाजस्तो घर–घरमा टोली पठाएर खोप लगाउनु पर्छ,’ उनले भने ।

बुस्टर डोजको प्राथमिकतामा को ?

सरकारले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई बुस्टर डोजको प्राथमिकतामा राखेको छ । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णका अनुसार पूर्ण खोप लगाएको तीन महिना पूरा भएका र दीर्घरोगीलाई बुस्टर डोज दिने तयारी छ । विश्व स्वास्थ्य संगठनले भने अवस्था हेरेर मात्रै बुस्टर डोजको प्रयोग गर्न आग्रह गर्दै आएको छ । चिकित्सकहरूका अनुसार सबै व्यक्तिमा बुस्टर डोज आवश्यक नहुने भएकाले जोखिम समूहमा मात्रै खोप सीमित राख्न सिफारिस गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु