कांग्रेस महाधिवेशन : प्रचण्ड एक वर्षपछि र नेपाल पाँच महिनापछि ओलीसँग एउटै मञ्चमा देखिने

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ ०९:०६

कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका तीन ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेतालाई आमुन्ने-सामुन्ने बसाउने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २४ मंसिरमा १४औं महाधिवेशनको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन गर्दै छन् । यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाउने भएको छ । कांग्रेसले महाधिवेशनको ब्यानरमा ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा राखेको छ ।

नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलो पटक एउटै मञ्चमा भेला हुन लागेका हुन् । विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।

उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने निश्चित भएको छ । ओली-प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली-नेपाल पनि भेट छैन ।

नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको छ । उनीहरूबीच संवाद टुटेको लामै समय मात्रै भएको छैन, देशव्यापी तिक्तता बढिरहेको छ । तीनै दल आपसमा कार्यकर्ता तान्ने होडबाजीमा छन् । नेताहरूले विभिन्न मञ्चबाट आपसी घोचेपेच र जुहारी जारी राखेका छन् । यस्तो पृष्ठभूमिमा एउटै मञ्चमा आमुन्ने-सामुन्ने हुन लागेका नेताले कस्तो सम्बोधन गर्लान् ?

ओली-नेपालबीच पाँच महिनाअघि २३ असारमा होटेल मेरियटमा लामो संवाद भएको थियो । एमालेलाई फुटबाट जोगाउन दोस्रो तहका नेताहरूले दशबुँदे सहमतिको मस्यौदा बनाएपछि उनीहरूले ओली-नेपाललाई संवाद गराउने अन्तिमसम्म कोसिस गरे पनि असफल भएपछि भदौमा दल विभाजन भएको थियो । त्यस्तै, ओली र प्रचण्डबीच एक वर्षदेखि संवादहीनता छ । उनीहरूबीच ५ पुस ०७७ मा संसद् विघटनको केही दिनअघि पछिल्लो भेटवार्ता भएको थियो । ओलीले संसद् विघटन गरेपछि उनीहरूबीच छिटफुट टेलिफोन संवाद भए पनि प्रत्यक्ष भेटघाट भएको छैन ।

२३ फागुनको सर्वोच्च अदालतको फैसलाले पार्टी विभाजन भएपछि त झन् ओली-प्रचण्ड दुई किनाराजस्ता भएका छन् । ओलीसँग प्रचण्ड र नेपालको बोलचाल नभए पनि संसद्मा आमुन्ने-सामुन्ने त थियो । तर, गत ११ कात्तिकमा संसद्को अधिवेशन सकिएपछि भने तीनै जना नेता आमुन्ने-सामुन्ने पनि छैनन् ।

तीनै नेताले फरक-फरक मञ्चबाट आपसी घोचपेच मात्रै गर्दै आएका छैनन्, चुनावमा पत्तासाफ बनाउने दाबीसमेत गर्दै आएका छन् । सत्तागठबन्धनमा रहेका माओवादी र नेकपा एसले एमालेविरुद्ध कांग्रेससँग मिलेर अबको चुनावमा गठबन्धन गर्ने बताउँदै आएका छन् । तर, कांग्रेस भने माघमा हुने राष्ट्रिय सभा चुनावसम्म गठबन्धन गर्ने, तर त्यसपछि भने परिस्थितिअनुसार निणर्य गर्ने द्विविधामा छ ।

एमालेको दशौँ महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस सभापति देउवा सहभागी भएका थिए । त्यहाँ देउवाले ओली आफ्नो जेलमेट रहेको सुनाएर लोकतन्त्रको दीर्घ जीवनका लागि कांग्रेस-कम्युनिस्ट मिल्नुपर्ने दृष्टिकोण प्रस्तुत गरेका थिए । सम्बोधनका क्रममा ओलीले देउवाको प्रस्तावमा सहमति जनाए पनि प्रचण्ड र नेपालले खुट्टा तानिरहेकै कारण अहिलेको सरकारले सोचे जस्तो काम गर्न नसकेको टिप्पणी गरेर कांग्रेसप्रति आफ्नो पार्टी नरम रहेको सन्देश दिन खोजेका थिए ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी अध्यक्ष ओली कांग्रेस महाधिवेशनमा सहभागी हुने जानकारी दिए । ‘महाधिवेशनको निमन्त्रणा आएको छ, पार्टी अध्यक्षज्यू शुभकामना दिने कार्यक्रमका लागि सहभागी हुने तयारीमै हुनुहुन्छ,’ तामाङले भने । एमालेबाट फुटेर बनेको नेकपा एस र माओवादी केन्द्र सत्तागठबन्धनमै रहेकाले दुवै पार्टीका प्रमुख नेता महाधिवेशनमा सहभागी हुने तयारीमै छन् । नेकपा एसका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले महाधिवेशनमा शुभकामना दिने कार्यक्रममा अध्यक्ष सहभागी हुने बताए । ‘कांग्रेसको महाधिवेशनमा सहभागी भएर धेरै पटक उहाँले शुभकामना दिनुभएको छ, गिरिजाबाबु सभापति बनेयताका सबै महाधिवेशनमा उहाँ सहभागी हुनुभएको छ,’ गौतमले भने, ‘त्यसैले यसपटक पनि उहाँ सहभागी हुनुहुन्छ ।’

गत १० मंसिरमा चितवनमा उद्घाटन भएको एमालेको दशौं महाधिवेशनमा भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल दुवै सहभागी थिएनन् । औपचारिक निमन्त्रणा भए पनि सहभागी हुन अरुचि राखेका प्रचण्डले नेता लीलामणि पोखरेललाई शुभकामना मन्तव्यका लागि पठाएका थिए । पोखरेलले कम्युनिस्ट पार्टीभित्र एकता, संघर्ष र रूपान्तरणको अन्तर्विरोध चलिरहने भएकाले परिस्थितिमा फेरबदल आएमा फेरि पनि एमाले र माओवादीबीच एकता हुन सक्ने संकेत गरेका थिए ।

प्रचण्डले भने आफूलाई हराउनका लागि एमालेले चितवनमै महाधिवेशनस्थल रोजेको आरोप लगाएका थिए । उता, नेकपा एसलाई भने एमालेले महाधिवेशनमा निमन्त्रणा नै गरेको थिएन । महाधिवेशनको संघारमा सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले अवैध सम्बन्धबाट जन्मिएको समूह भएकाले नेकपा एसलाई निमन्त्रणा नगरिएको बताएका थिए ।

ओलीसँग प्रचण्डको गत पुस र नेपालको २३ असारयता छैन देखभेट

ओली-नेपालबीच पछिल्लोपटक २३ असारमा होटेल मेरियटमा लामो संवाद भएको थियो । एमालेलाई फुटबाट जोगाउन दोस्रो तहका नेताहरूले दश बुँदे सहमतिको मस्यौदा बनाएपछि दुई नेतालाई संवाद गराउने अन्तिमसम्म कोशिस गरे पनि असफल भएका थिए । भदौमा त दल विभाजन नै भयो ।

ओली र प्रचण्डबीच एक वर्षदेखि संवादहीनता छ । उनीहरूबीच पछिल्लो भेटवार्ता ५ पुस ०७७ मा संसद् विघटन हुनुभन्दा केहीबेरअघि भएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले पार्टीभित्र सल्लाह नै नगरी संसद् विघटन गरेपछि उनीहरूबीच भेट भएको छैन । यद्यपि कहिलेकाहीँ टेलिफोन संवाद भने भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु