बैतडीमा एक युवती बिहे गरेको ३ दिनपछि बेपत्ता भएपछि…

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०९:०३

बैतडी। बैतडीमा एक युवती बिहे गरेको ३ दिनपछि बेपत्ता भएकी छन।धुमधाम उत्सवका साथ भित्र्याइएकी एक दुलही बिवाह भएको तेस्रो दिनमै फरार भएकी छन्।

जिल्लाको दशरथचन्द नगरपालिका–५ नौहाँटका दिपकप्रशाद भट्टले दोगडाकेदार–१ रीमबाट बाजा ठोकेर घर भित्र्याएकी जयन्ती जोशी बिहेकै तेस्रो दिनमा सम्पर्क बिहीन भएकी हुन्।दुलही गायब भएपछि दुलाहा हैरान भएका छन् ।

अहिले बेहुला भट्ट उनको खोजीमा जुटेका छन। दुलही गायब भएपछि उनले फरार भएकी दुलहीको खोजीकार्य गरिदिन भन्दै प्रहरीमा निवेदन दिएका छन्। दिपक र जयन्तीबीच गत असोजदेखि फोनमा सम्पर्क हुन थालेको थियो। दुबै जनाबीच लामो कुराकानी हुने गरेको र बिहे अघि सम्बन्ध सुमधुर रहेको दुलाहा दिपकले बताए ।

लामो कुराकानी पछि बिहेको कुरा अघि बढेको दुलाहा दिपकले बताएका छन्। ‘फोनमा दैनिक सय रुपैयाको रिचार्ज खर्चेर गफगाफ चल्थ्यो’ दुलही हराएर हैरान भएको अवस्थामा बैतडी सदरमुकाममा फेला परेका उनले भने–‘बिहे नहुँदासम्म त ठिकठाकै चल्दै थियो, बिहे भएको तेस्रो दिन त हराइहाली।’ फोनमा कुरो गर्दै जाँदा सम्बन्ध झाङ्गिदै गएपछि मंसिर १ गते दिपक दुलही हेर्न गएका थिए। उनीहरुको यहि मंसिर १२ गते विवाह सम्पन्न भएको थियो।१३ गते घर भित्र्याएकी दुलही १५ गते घर छोडेर गएको दिपकले गुनासो गरे। केटीको अर्कै केटासँग सम्बन्ध रहेको र घरबाट त्यसलाई नदिने विचार रहेकाले आफूलाई फसाएको उनले दाबी गरे। केटी र माइती सबै मिलेर आफुलाई फसाइएकाले बिहेमा खर्च भएको साढे ७ लाख रुपैया असुल गर्ने सुरमा आफू लागेको उनको भनाई छ। ३ लाख ग्रामिण विकास लघुबित्तबाट ऋण लिएको र बाँकी आफन्तसँग ब्याजमा पैसा निकालेर बिहेमा ७ देखि साढे ७ लाख खर्च भएको दिपकले बताए ।

‘ऋणै ऋण लिएर यत्रो खर्च गरियो’ उनले भने– ‘तीन तोला सुन, ५० हजार नगद र ४ आनाको औंठी समेत लिएर ऊ (दुलही) चाहिँ फरार भइँ ।’ बिहे गरेर ल्याएको पहिलो र दोस्रो राती समेत राम्ररी दुलहीसँग बिताउन नपाएको उनको गुनासो छ । ‘बिहेको राती पनि धक्कामुक्का गरेर मलाई हिर्काइ’ दिपक भन्छन्– ‘दुई राती अलिअलीसँगै हुँदा समेत मलाई वास्तै गरिन, अर्कै केटासँग फोनमा गफ गरेर बसी ।’ बेहुली हराएपछि एक चोटी फोनमा सम्पर्क भएको र ‘तिम्रो चुरा समेत लगाएकी छैन, त्यही फालेर गएकी छु’ भनेको उनले सुनाए । चुरा फालेर गएपनि गहना भने लिएर गएको उनको दुखेसो छ । १५ गते माइत गएपछि त्यहाँबाट गोकुले जान्छु भनेर गएकी उनी सम्पर्कबिहीन भएको माइती पक्षले बताएका छन्। सम्पर्कबिहीन भएकी दुलही गोकुलेश्वर क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत थिइन् भने दुलाहा भट्ट स्थानीय विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत छन् । हराएकी दुलहीको मोबाईलमा सम्पर्क गर्दा बन्द रहेको छ । प्रहरीले उनको खोजिकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु