कैलालीका भूपेन्द्र बडूवालको हत्या आरोपमा ९ जना पुर्पक्षका लागि थुनामा, ३ धरौटीमा छुटे

छिनोफानो   शनिबार २५, मङि्सर २०७८ ०८:४२

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ का भूपेन्द्र बडुवालको हत्या आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् भने ३ जना धरौटीमा छुटेका छन् ।

शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ मध्ये ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको आदेशसँगै लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

त्यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही भने धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

उनीहरु तीन जनामाथि बडुुवालको हत्याका अभियुक्तहरुलाई सघाएको (मतियार)आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाएको थियो । बडुवाल हत्या प्रकरणमा फरार रहेका अन्य ९ जनाको बारेमा भने अदालत तत्काल केही नबोलेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

लम्कीचुहाका बडुुवालको गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । लम्की, टीकापुर र चिसापानी क्षेत्रमा युुवाहरुको समूह बनाएर अपराधिक गतिविधिमा संलग्न नवीन रावल र जयन्द्र शाहको समूहबीच आपसी झगडाका कारण बडुवालको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।घटनामा संलग्न अन्य ९ जना अझै फरार छन् ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु