सुदूरपश्चिमबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता

छिनोफानो   आइतबार २६, मङि्सर २०७८ ०३:४८

डोटी  - सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता भएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका अनुसार कामका लागि भारत गएका नागरिकहरु यति ठूलो सङ्ख्यामा बेपत्ता भएका हुन् । 

भारतका विभिन्न सहरमा मौसमी र बेमौसमी कामदारको रुपमा करिब ६ लाख श्रमिक श्रम गर्दै आएका संस्थाको अनुमान रहेको छ। 

कामको खोजीमा भारत पसेका श्रमिकमध्ये प्रायजसाे असुरक्षित रुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'कामका लागि भारत गएका श्रमिकहरुले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसै अनुरुप प्रायजसाे श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ ।'

नेपाली श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकहरुको गुनासो छ। भारतमा हुने श्रम शोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उतै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताउनुभयो । 

उहाँले भन्नुभयो, 'ऋण लागेर कमाउन भारत गएकाहरु त्यहाँ दुःख पाउने गरेका छन्, दुःख सहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन् ।' भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उहाँको आरोप छ । 

लाखौँको सङ्ख्यामा श्रमका लागि भारत पसेका नेपालीमध्ये बेपत्ता हुनेक्रम बढ्दै जाँदा समेत यो विषयलाई राज्यपक्षबाटै उपेक्षा गरिँदै आएको यहाँका स्थानीयको आरोप छ । भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ भएकै कारण कुटपिट, लुटपाट, बेपत्ता र हत्या समेत हुने गरेको इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशी समर्पणले बताउनुभयो । 

उहाँले भन्नुभयो, 'श्रमिकको अवस्था बुझ्नु पर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कसले खोज्ने ?' भारत गएकाहरुसँग श्रम सम्झौताको व्यवस्था नहुँदा नेपाली श्रमिकले भारतमा असुरक्षित भएर श्रम गर्नु परिरहेको उहाँको भनाइ छ। 

उज्यालो बाट साभार 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु