बर्दिया-बाँके राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना हुँदै

छिनोफानो   बुधबार २९, मङि्सर २०७८ ०९:४२

 बर्दिया-बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना हुँदैछ । क्यामेरा ट्रयापिङ प्रविधिबाट बाघ गणना शुरु गर्न लागिएको निकुञ्ज प्रशासनले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनामा खटिनेहरूका लागि दुई दिनको विशेष तालिम दिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया-बाँके कम्प्लेक्समा हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ। राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको संख्या पत्ता लगाउने उद्देश्यले देशभर तीन वटा कम्प्लेक्समा क्यामेरा ट्रयापिङ प्रविधिबाट बाघ गणना शुरु गर्न लागिएको हो ।

मंसिर १९ गतेदेखि चितवन-पर्सा कम्प्लेक्समा बाघ गणना शुरु भइसकेको छ । चितवन-पर्सा कम्प्लेक्समा बाघ गणना सकिएलगत्तै शुक्लाफाँटा कम्प्लेक्समा बाघ गणना शुरु गरिने निकुञ्ज प्रशासनले जनाएको छ । यसअघि सन् २००० मा बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको गणनामा ४० वटा बाघ थिए ।

सन् २००९ मा गरिएको गणनामा यो संख्या घटेर १८ मा झरेको थियो । सन् २०१३ मा गरिएको गणनामा बाघको संख्या बढेर ५० र सन् २०१८ को गणनामा ८७ पुगेको तथ्याङ्क निकुञ्जले सार्वजनिक गरेको छ । सन् २०१८ को बाघ गणनामा बर्दिया निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ वटा वयस्क बाघ पाइएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु