भारतमा महिलाको विवाहयोग्य उमेर २१ वर्ष बनाइँदै

छिनोफानो   शनिबार ०३, पुष २०७८ ०४:४२

भारतमा महिलाको विवाह गर्ने न्यूनतम उमेर हद बढाइने भएको छ । त्यहाँको मन्त्रिपरिषद्ले महिलाका लागि विवाहको न्यूनतम उमेर हद २१ वर्ष पुर्याउने निणर्य गरेको हो ।

हाल भारतको कानुनमा विवाहका लागि महिलाका हकमा १८ वर्ष पुगेको भए पुग्ने व्यवस्था छ । पुरुषको विवाह गर्ने न्यूनतम उमेर भने २१ तोकिएको छ । अब महिलाको पनि विवाहयोग्य उमेर हद २१ बनाउने निणर्य भारत सररकारले गरेको हो । अब कानुन संशोधन गरी उक्त नियम लागू हुने गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर यो प्रक्रिया पूरा गर्न केही समय लाग्ने बताइएको छ ।

विवाहको उमेर हदबारे अहिलेको भारतीय कानुन सन् १९५५ मै बनाइएको हो । त्यसको झन्डै ६७ वर्षपछि पुरुष-महिला दुवैको विवाहयोग्य उमेर समान बनाउन लागिएको हो । हाम्रो देशमा भने मुलुकी संहिता २०७४ जारी भएयता महिला र पुरुष दुवैका लागि विवाहयोग्य उमेर समान २० वर्ष नै तोकिएको छ । यसअघि भने विवाहका लागि न्यूनतम उमेर हद भारतमा जस्तै महिलालाई १८ र पुरुषलाई २० वर्ष तोकिएको थियो ।

अन्य देशमा के छ व्यवस्था ?
मुलुकपिच्छे विवाहयोग्य उमेर फरक फरक तोकिएका छन् । अमेरिकामा महिला-पुरुष दुवैका लागि १८, चीनमा पुरुषका लागि २२ र महिलाका लागि २०, जर्मनमा महिला र पुरुष दुवैका लागि १८, फ्रान्समा पनि १८, स्पेनमा १६ तथा बंगलादेशमा पुरुषका लागि २१ र महिलाका लागि १८ वर्ष विवाह-योग्य उमेर मानिएको छ ।

#विवाहयोग्य उमेर

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु