ज्यान मुद्दामा सात वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर फरार

छिनोफानो   शुक्रबार ०९, पुष २०७८ ०९:१७

दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका एक कैदी प्रहरीको आँखा छलेर फरार भएका छन् । घोराहीस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दाङकै राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार बिहान फरार भएका हुन् । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनी फरार भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ज्यान मुद्दामा उनले सात वर्ष कैद भुक्तान गरिसकेका छन् ।

जयरामलाई उपचारका लागि बिहीबार बिहान ११ बजे प्रहरी जवान धनबहादुर चौधरीले अस्पताल लिएर गएका थिए । लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा राखेर चौधरीले उनलाई अस्पताल पुर्याएका थिए ।

उपचारका लागि हतकडी खोलेपछि उनले प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेका दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । परियार फरार भएपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको छ । मिलेमतोमा चौधरीले परियारलाई भगाएको आशंका प्रहरीले गरेको छ । चौधरीलाई थुनामा राखेर परियार फरार भएको घटनामा अनुसन्धान सुरु गरिएको एसपी काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु