अन्तिम पटक नेतृत्व गर्नुपर्ने बाध्यता आयो : प्रचण्ड

छिनोफानो   मङ्गलबार २०, पुष २०७८ ०९:०५

माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः सर्वसम्मत चयन भएका छन् । आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई पुनः चयन गरेको हो । चुनावपछि गर्ने भनिएको विशेष महाधिवेशनमा नेतृत्व परिवर्तन नभए प्रचण्डको कार्यकाल पाँच वर्ष हुनेछ ।

माओवादी केन्द्रको बैठकले नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा अध्यक्ष चयन गरेको हो । आठ दिनसम्म राजधानीको प्रज्ञा प्रतिष्ठानमा चलेको महाधिवेशनले अपूरो केन्द्रीय कमिटीबाहेक पदाधिकारी चयन गर्न सकेको थिएन । त्यही अपूरो केन्द्रीय कमिटीबाट प्रचण्ड अध्यक्षमा निर्वाचित भएका हुन् ।

विधानमा दुई सय ९९ जना केन्द्रीय समितिको व्यवस्था भए पनि प्रचण्डले दुई सय ३७ जनाको अपूरो केन्द्रीय कमिटी हलमा प्रस्तुत भएको थियो । आइतबार महाधिवेशनको बन्दसत्र हलमा नै केन्द्रीय समिति प्रस्ताव गर्दै प्रचण्डले पहिलो बैठकबाट पदाधिकारी चयन गर्ने बताएका थिए । माओवादीको विधानले महाधिवेशनले केन्द्रीय कमिटी र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने व्यवस्था गरेको छ ।

सोहीअनुसार सोमबार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई चयन गरेको हो । बाँकी पदाधिकारीको विषयमा छलफल गर्न २५ पुसमा अर्को केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रचण्डले त्यही बैठकबाट पदाधिकारी चयन हुने बताए ।

बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारका लागि हाल चीनमा रहेका नेताहरू वर्षमान पुन र ओनसरी घर्ती मंगलबार नेपाल आउने र त्यसपछि उनीहरूसँग पनि छलफल गरेर पदाधिकारी टुंग्याउने बताए । ‘उहाँहरूलाई पनि सामेल गर्नु भावनात्मक, संवेदना, विचार हरेक दृष्टिबाट उचित हुने भएको हुनाले पदाधिकारी चयन नगरेका हौँ,’ उनले भने, ‘अर्को बैठकबाट हुन्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु