श्रममन्त्रीको ‘एक्सन’ : बिचौलिया पक्राउदेखि अलपत्रको उद्धार गर्न विदेशसम्म

छिनोफानो   सोमबार २४, माघ २०७८ ०२:१२

काठमाडौं । पछिल्लो समय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने नेपालीको उद्धार र व्यवस्थापनमा व्यस्त देखिन थालेका छन् । बिचौलिया र मेनपावर सञ्चालकलाई ‘थर्काउने’देखि विदेशमै पुगेर पक्राउ गर्नेसम्मको चेतावनी मन्त्री श्रेष्ठले दिँदै आएका छन् । 

रोजगारीको प्रलोभनमा बिचौलिया र मेनपावर सञ्चालकहरुले भिजिट भिसामा विभिन्न देश पुर्याएर अलपत्र पार्ने प्रवृत्ति बढ्दै जाँदा मन्त्री श्रेष्ठ ‘एक्सन’मा उत्रिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यूएईमा अलपत्र नेपालीले उद्धारको गुहार मागेपछि मन्त्री श्रेष्ठ यूएईमै पुगेर उनीहरुको उद्धारको पहल गर्ने भएका छन्् ।
 
साथै भिजिट भिसामा त्यहाँसम्म पुर्याउने बिचौलिया, मेनपावर सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने मन्त्री श्रेष्ठको अडान छ । आइतबार मन्त्री श्रेष्ठले नेपालीलाई भिजिट भिसामा यूएई पुर्याइ अलपत्र पार्ने मेनपावर सञ्चालक र बिचौलियालाई कारबाहीको दायरामा ल्याउन यूएईका राजदूत साइद हमदान अल नाकीसँग भेटवार्ता पनि गरेका थिए ।
 
विभिन्न प्रलोभनमा परेर भिजिट भिसामा विदेशिने प्रवृत्ति न्यूुनीकरण गर्न मन्त्रालय केन्द्रित देखिन्छ । मन्त्रालयले विदेशमा अलपत्र नेपालीको समस्या गुनासो २४ घण्टा सुन्ने गरी गुनासो सेन्टरको स्थापना पनि गरेको छ । तर, अलपत्र नेपालीको उद्धार र ठगिने प्रवृत्ति घट्न सकेको छैन ।
 
मन्त्री श्रेष्ठ यतिबेला भिजिट भिसामा विदेश गएर अलपत्र नेपालीको उद्धार र व्यवस्थापनमा केन्द्रित रहेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले विदेशमा अलपत्र नेपालीको व्यवस्थापन र उद्धारको लागि मेनपावर र बिचौलियाहरुलाई व्यवस्थापनको निर्देशन दिँदै आएका छन् । निर्देशन बमोजिम पछिल्लो समय मन्त्रालयको पहलमा केही नेपालीको उद्धार पनि भएको छ ।
 
मन्त्रालय मातहतका सबै कार्यालयहरुमा विदेशमा अलपत्र र बिचौलियाबाट ठगिएका नागरिकको गुनासो सम्बोधन गरी उद्धारको पहल गर्न १–१ जना फोकल पर्सन तोकिएको छ । विगतका वर्र्षदेखि रोजगारीको प्रलोभनमा चर्को शुल्क तिरेर विदेश गइ अलपत्र पर्ने नेपालीको संख्या ठूलो छ । 

अधिकांश नेपाली दुबई, कतार, साउदी अरेबियालगायत देशमा अलपत्र छन् । प्रतिव्यक्ति दुई लाखदेखि १० लाखसम्म मेनपावर र बिचौलियालाई तिरेर ठगीमा परेकाहरु छन् । 

उनीहरु नेपालबाट विदेशको एयरपोर्टमा पुग्ने वित्तिकै उनीहरुको पासपार्ट, रुपैयाँ पैसा (डलर) लगायत अन्य डलर लिइ लेबर क्याम्पमा बन्धक बनाएर राखिन्छ । मन्त्रालयले केहीदिन पहिले सुरु गरेको गुनासो सेन्टरमा अधिकांश भिजिट भिसामा चर्काे शुल्क तिरेर विदेशीनेहरु नै छन् । अधिकांश नेपालीहरुले काम नपाएको र खाना नदिएर लेबरक्याम्पमा बन्धक बनाएर  राखिएको अवस्थामा रहेको गुनासो गरेका छन् । 
 
पछिल्लो समय मन्त्री श्रेष्ठको गृह जिल्लाकै २८ जना नागरिक अलपत्र परेको अवस्थामा मन्त्रालयको पहलमा उद्धार गरियो । उनीहरुले आफ्ना सयौँ साथीहरु अलपत्र अवस्थामा रहेकाले उनीहरुलाई पनि उद्धार गर्न मन्त्री श्रेष्ठलाई सुझाएका छन् । सोहीमध्ये केही अलपत्रहरुले मन्त्री स्वयंलाई प्रमाणसहित गुनासो पनि टिपाएका छन् ।
 
मन्त्रीको सक्रियताले तोकिएको भन्दा बढी रुपैयाँ असुल्दै आएका केही बिचौलिया र मेनपावर व्यवसायी पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको पाइएको छ । मन्त्री श्रेष्ठले केही दिन पहिले भिजिट भिसामा दुबई पुर्याएर अलपत्र पार्ने मेनपावर सञ्चालन कमल उपाध्यायलाई फोनमार्फत ‘थर्काए’का थिए ।  

Global bank

‘‘तपाईंले अलपत्र नेपालीहरुको उद्धार र व्यवस्थापन नगरे सुरक्षाकर्मीसहित त्यहीँ पुग्छु । विदेशमा छु भनेर सुरक्षित नसम्झिनु है भाइ । तपाईंलाई पानी मुनी गए पनि छोड्दिँन । पक्राउ गरेरै छाड्छु,” मन्त्री श्रेष्ठले भनेका थिए । 

उपाध्यायसँगको मन्त्रीको यो फोन सामाजिक सञ्जालमा ‘भाइरल’ पनि भयो । सोही क्रममा कमलले काममा लगाइदिने भन्दै मन्त्रीलाई जवाफ फर्काएका थिए । मन्त्री श्रेष्ठले आफू अरुजस्तो मन्त्री नभएको र कारबाहीको दायरामा ल्याएरै छाड्ने बताएका थिए । 

पछिल्लो समय उनी अलपत्र नेपालीको व्यवस्थापन र उद्धारमा समन्वय गर्नभन्दै विभिन्न देशका दूतावासका राजदूतसँग भेटवार्ता गर्दै आएका छन् । 

यूएई सरकारसँग छलफल गरेर अलपत्र नेपालीको व्यवस्थापन गर्न त्यहाँ जान लागेको मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । मन्त्री श्रेष्ठको यूएई भ्रमणका क्रममा नेपाल यूएई संयुक्त समितिको बैठक पनि आयोजना गरिने उनले बताए ।
 
विभिन्न प्रलोभनमा पारेर गैरकानुनी बाटोबाट विदेश पुर्याउने जोकोहीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने मन्त्री श्रेष्ठको चेतावनी छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु