सङ्खुवासभा सामूहिक हत्याकाण्डका मुख्य योजनाकार खड्गबहादुर कार्की :अन्यको पनि संलग्नता

छिनोफानो   सोमबार ०४, असोज २०७८ ०२:४३

सङ्खुवासभा सामूहिक हत्याकाण्डमा ५ जनाको संलग्नता रहेको भन्दै प्रहरीले आरोपी सार्वजनिक गरेसंगै घटनामा नयाँ मोड आएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शुरुमा छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको छ । घटनमा सुरुमा लोकबहादुर कार्की पक्राउ परेपनि घटनाको मुख्य योजनाकार लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की रहेको खुल्न आएको छ । खड्गकै योजनामा खड्गबहादुरका छोरा हस्तबहादुर, लोकबहादुर, लोकबहादुरका बुवा रणबहादुर र लोकबहादुरका भाइ नरेश कार्कीले हत्या गरेको खुलासा भएको हो । ​आरोपीहरू पाँचै जनालाई तेजबहादुरले हेप्ने गरेको, गाली गर्ने गरेको र तेजबहादुरको घरमा सम्पत्ति रहेको थाहा पाएसँग हत्या गरी लुटपाट गर्नेसम्मको योजना रहेको पाइएको छ ।
प्रहरीका अनुसार आरोपीहरू मध्ये खड्गबहादुर नियमित रूपमा मदिरा पिउने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने र खड्गबहादुरले पनि ‘तँलाई के मतलब तलाईं मार्छु’ भन्दै झगडा गर्ने गरेको पाइएको छ । त्यसै गरी लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने गरेकाले लोक बहादुरले इख लिई बसेको पाइएको छ । त्यसै गरी नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेब्रो केही गर्ने सक्दैनस्’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको भनी मनमा ईख पालेको र घटनाको दिन आरोपीहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोही मौका छोपी योजना बनाई हत्या गरेको पाइएको छ ।हत्यामा पाँच जनाको संलग्नता रहेको भए पनि कुनै कारणवश प्रहरीले पत्ता लगाएमा जसलाई पत्ता लगाउँछ उसैले मात्रै जिम्मा लिने योजना बनाएको पाइएको छ । घटनाका बारेमा अन्य कसैले केही नभन्ने र लोक बहादुरले मानसिक समस्याको औषधि खाइरहेको कारण उसैले जिम्मा लिने योजना बनाएको पाइएको छ । लोक बहादुर मानसिक रोगी रहेको भन्दै उनलाई धेरै कारबाही नहुने भन्दै लोकबहादुरले घटनाको जिम्मा लिएका थिए र सुरुमा घटनामा आफ्नो मात्रै संलग्नता रहेको बताएका थिए ।

तर लोकबहादुरमा भाइ नरेश कार्कीले घटनापश्चात् हराइरहेको रञ्जनाको ओप्पो कम्पनीको मोबाइल चलाएपछि घटनामा नयाँ ट्वीष्ट आएको थियो । भदौ २९ गते घरमुनिको ओडारमा लुकाएको मोबाइल नरेशले चलाएपछि प्रहरीले नरेशलाई पक्राउ गरेको थियो । तर पक्राउपछि नरेशले घरमै पाएकाले चलाएको बयान दिए पनि प्रहरीले थप केरकार गर्दा आरोपी लोकबहादुरले घटनामा ५ जनाको संलग्नता रहेको बयान दिएका थिए । लोकबहादुरको बयानलगत्तै प्रहरीले लोकबहादुरका बुवा, भाइ, काका र काकाका छोरालाई पनि पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु