वडा कार्यालयले नै गराइदियो सम्बन्ध विच्छेद

छिनोफानो   बिहिबार ०७, असोज २०७८ ०४:३०

सिरहा : कानूनतःसम्बन्ध विच्छेदको मुद्दा अदालतले हेर्ने हो। तर, लहान नगरपालिका ५ का वडा अध्यक्ष सुलेमान अन्सारीले वडा कार्यालयमै एक मुस्लिम दम्पतिको सम्बन्ध विच्छेद गराइदिएको छ। सम्बन्ध विच्छेदको कागज बनाइदिएपछि केटाले अर्को विवह पनि गरिसके। तर, केटी पक्षले कागज भएअनुसार न त दाइजो फिर्ता पायो न न्याय। उनी भने वहुविवाहको निवेदन बोकेर न्याय माग्दै भौतारिरहेका छन्। 

०७५ साउन २० गते लहान नगरपालिका ५ का २३ वर्षीया तबसुम अजमेरीको बिहे भगवानपुर गाउँपालिका २ गम्हरियाँका २८ वर्षीय मोहम्मद नइमसँग भयो। विवाह भएको दुई महिना नबित्दै नइम बैदेशिक रोजगार कतारमा गए।

‘बिहे भएको महिना दिन नबित्दै घरमा दुःख दिन थाल्यो। पति पनि विदेश गयो। विदेश जान रोक्न खोज्दा पनि मानेन। थाहै नदिई गयो,'तबसुमले भनिन्, ‘विदेश गएपछि झन सम्पर्क गर्न मानेन। यता, घरमा सासु ससुराले पीडा दिन थाल्यो।’ उनी माईतमा आएर बस्न थालिन्। पछि गाउँका अगुवाहरुले छलफल गरी सासु ससुरासँगै बस्न पठाएको उनले सुनाईन्। 

‘केही महिना नपुग्दै फेरी पहिलेकै जस्तै दुःख दिन थालेपछि माईत फर्किन्। पति पनि सम्पर्क बिहीन भए। सासु ससुराले धाकधम्की हिंसा गर्न छाडेनन,’उनले भनिन,‘मेरो बुबाले गाउँका अगुवा, वडा अध्यक्षलाई घटना मिलाईदिन आग्रह गरे। तर, अगुवाहरुले सम्बन्ध विच्छेदको निवेदन हाल्न लगायो।’ 

उनले ०७७ मंसिर ४ गते लहान नगरपालिका ५ को कार्यालयमा निवेदन दिएकी थिइन्। सोही निवदेन अनुसार ०७७ मंसिर ८ गते वडा कार्यालयमा नै सम्बन्ध विच्छेदको कागज बन्यो। त्यतिबेला सम्म तबसुमको पति नइम विदेशमा नै थिए। 

सम्बन्ध विच्छेदको कागजमा बिहेमा दाइजोमा लिएको सम्पूर्ण सामानहरु र नगद फिर्ता गर्नुपर्ने उल्लेख छ। ‘लेखे अनुसार न सामान फिर्ता भयो न नगद,’तबसुमले भनिन्,‘कम्तीमा दाइजो फिर्ता लिएर भएपनि आफु अलग बस्न चाहेको छु। बिहेमा नगद ५ लाख दिएको तर, फिर्ता डेढ लाख मात्रै गर्ने सहमति गराएको उनले बताइन । 

गत साउनमा नइम विदेशबाट घर आए। तबसुमले पटक-पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएका छैनन्। घर आएलगतै नइमले अर्को विवाह पनि गरे। अर्को विवाह गरेको जानकारी पाएपछि आफुले इलाका प्रहरी कार्यालय लहानमा बहुबिवाहको निवेदन दिएको तबसुमले बताइन्। निवेदन दर्ता भने भएको छैन। निवेदन दिएको थाहा पाएर वडा अध्यक्षले मान्छे लगाएर आफुहरुलाई किन प्रहरीमा गएको भनेर दबाब दिएको उनले अन्नपूर्ण पोस्ट्लाई बताइन । 

प्रहरीमा निवदेन परेपछि केटा र केटी पक्ष छलफलका लागि प्रहरी कार्यलय लहानमा गएका थिए। त्यहाँ नइम उपस्थित भएनन्। तबसुमले नइम उपस्थित हुनुपर्ने माग राखिन्। ‘आफुलाई दाइजो फिर्ता दिएपनि कुनै मुद्दामा जाँदिन,’उनले भनिन्,‘कति झन्झट र दुःख पाउनु। बरु अलग्गै बस्छु।’ 

प्रहरीमा वहुविवाहको निवेदन दिएपनि पीडितकै अनुसार दर्ता नगरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपनकुमार दाहालले बताए। ‘निवेदन आएको छ, पीडितले नै अहिले दर्ता नगर्नु भनेपछि रोकिएको हो। छलफलका लागि दुवै पक्षको आएको थियो,’उनले भने,‘दाइजो फिर्ता लिएर केटी पक्ष छुटिन चाहेको देखिएको छ। केटी पक्षले दर्ता गर्न भन्ने वितिकै दर्ता हुन्छ। हामीले रोकेको होइन।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु