अभिनेत्री करिष्मा मानन्धर नेकपा एमाले प्रवेश

छिनोफानो   मङ्गलबार ०८, चैत २०७८ ०७:०६

 अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताएकी छन् ।
आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् । ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’ उनले भनिन् ।

आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनु नपर्ने करिष्माले बताइन् । उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् ।

देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् । एमाले पार्टीमा प्रवेश गर्दै उनले यस क्षेत्रमा आफूले राम्रै पहिचान पाएको बताउँदै यही पहिचान सबैथोक होइन, यसको बारेमा आफ्नो मनमा प्रश्न उठेको बताइन् ।

यो समाज र देशको महिलाका लागि केही गर्नुपर्छ जस्तो लागेर यस क्षेत्रमा लागेको बताउँदै उनले आफ्नो क्षेत्रबाट पनि देशका लागि केही नकेही योगदान गर्दै थिए, आजबाट एमालेमा रहेर देशको परिवर्तनका लागि काम गर्ने बताइन् ।

‘सबैको मनमा नेकपा एमाले नै किन भनि प्रश्न आउनसक्छ’, उनले भनिन्, ‘म अध्यक्ष केपी शर्मा ओलीमा रहेको इनर्जी देखेर अचम्ममा परेको छु ।’ देशको थुप्रै ठाउँमा आफू पुग्दा अध्यक्ष ओलीको प्रशंसा गरेकै हुन्छन् भन्दै अभिनेत्री मानन्धरले देशको परिवर्तनका लागि एमाले पार्टी टुल रहेको धारणा राखिन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु