जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा तीन जना सशस्त्र प्रहरी सम्मानित

छिनोफानो   शनिबार १६, असोज २०७८ ०३:०४

धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीले तीन जना सशस्त्र प्रहरी लाई सम्मानित गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोर कर्मचारीहरूलाई सम्मान गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं ७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई सम्मान गरिएको हो । शनिवार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै तीनै जनालाई प्रहरी उपरीक्षक विश्व अधिकारीले सम्मान स्वरूप प्रशंसा–पत्र प्रदान गरेका हुन।

भाद्र १८ गते जिल्लाको गोदावरी नगरपालिका–१ बस्ने १० र १४ वर्षका दुई जना बालकहरू बेपत्ता भएका थिए । उनीहरूको खोजतलास गर्दै जाँदा राती मनहरा नदीको किनारमा कपडा फेला परेका थिए। त्यस पश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राती करिब साढे १ बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरिएको थियो ।

ती बालकहरूको शव उद्धारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशीलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै सशस्त्र प्रहरीका तीनै जना कर्मचारीलाई उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरूप प्रशंसा–पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अधिकारीले बताए । जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसँगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।

यसका लागि सशस्त्र प्रहरी बल नेपाल प्रति आभार व्यक्त गर्दै गुणस्तरीय नागरिक सेवा प्रवाहका लागि यो समन्वय र सहकार्य अझै प्रभावकारी हुँदै जाने प्रहरी उपरीक्षक अधिकारीले विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु