उच्च अदालतले घटायो जनकपुर बम काण्डका मुख्य योजनाकार साहको सजाय

छिनोफानो   सोमबार १८, असोज २०७८ १२:०२

काठमाण्डाै-धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डको मुख्य योजनाकार भन्दै जन्मकैदको फैसला सुनाइएका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) लाई उच्च अदालत जनकपुरले सजाय घटाएको छ ।

दुई हप्ताको  बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकिदिएको छ ।

२०६९ साल वैशाख १८ मा जनकपुरको रामानन्द चोकमा भएको शक्तिशाली विष्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए ।

त्यस  घटनामा धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको थियो । अभियुक्तहरुमाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा परेका थिए।

ती मुद्दाहरुमा फैसला गर्दै जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो । जिल्लाको फैसलाविरुद्ध प्रतिवादीले उच्च अदालतमा रिट दायर गरेका थिए। जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीर बहादुर चन्दको संयुक्त इजलासले हिजो १२ वर्षबाट सजाय घटाएर साहविरुद्ध ७ वर्ष कैद सजाय सुनाएको हो ।

ज्यान मार्ने उद्योगमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यद्यपी यस  घटनामा १२ वर्ष सजाय पाउनेहरु अन्य अभियुक्तहरु मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेश कर्ण र जितेन्द्र झाविरुद्ध जिल्ला अदालतले गरेको फैसला उच्चले सदर गरिदिएको छ ।

साह अहिले काठमाण्डौको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु