एमाले एक व्यक्तिकाे पार्टी जस्ताे भयाे : नेता नेपाल

छिनोफानो   बिहिबार २१, असोज २०७८ ०३:४९

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाउनुभएको छ ।

आज बिहीवार पार्टी काठमाण्डाैकाे एक पार्टी प्यालेसमा नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष नेपालले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताउनुभयो । उहाँले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गर्नुभयो । उहाँले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको बताउँदै नेकपा एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टीजस्तो भएको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘परित्याग गरेर आएको पार्टी नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको व्यहोरा पनि हामीले भर्खरै सुन्यौँ, अन्तिसम्म प्रयत्न गर्दा पनि त्यो पार्टीलाई ठिक ठाउँमा ल्याउन नसकिने भयो भन्ने निष्कर्षमा पुगेर र पछिल्लो कालको तमासा विधान महाधिवेशनको नाममा भेला गरिएका मानिसहरूको जमात, त्यहाँ अघि सारिएका मान्यताहरू सबै चिज देखेर भानुभक्त जोशी पार्टी परित्याग गरेर एकीकृतमा प्रवेश गर्नुभयो । नयाँ यात्रामा प्रवेश गर्नुभएको छ, यसमा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले सिर्जना गर्नेछन्, केपी ओली सबै हिसाबले कम्युनिस्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका छन्, च्युत भइसकेको अब औपचारिक रूपमा हेर्न बाँकी छ । त्यहाँ कुनै सामूहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रा.लि.को रूपमा रूपान्तरित हुन थालेको छ । आजकाे बैठकमा जाेशीलाई पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने घोषणा गर्दछु ।’

कार्यक्रममा नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गर्नुभएको नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तरपार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकाले पार्टी परिवर्तन गरेको बताउनुभयो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु