हरेक वर्ष बलि दिइने तलेजुमा यसपल्ट बलिरहित पूजा

छिनोफानो   बिहिबार २८, असोज २०७८ ११:४६

भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष दशैंमा आज (बिहीबार) तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष कोरोना भाइरस संक्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए। गुठी संस्थानको खर्चमा हुने वर्षौदेखि चल्दै आएको बलि दिने परम्परा गतवर्ष र यसवर्ष कोरोना भाइरस संक्रमणका कारण रोकिएको उनले जानकारी दिए ।

तलेजुलाई मूल चोकको दशैं घरमा विराजमान गराउने वर्षौदेखिको परम्परा समेत यस वर्ष रोकिएको छ । कोरोनाकै कारण गतवर्ष र यस वर्ष तलेजुलाई मूल घरबाट दसैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।

त्यसै गरी यस वर्ष कुमारीलाई काठमाडौंस्थित कुमारी घरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भएपनि यसवर्ष भने कुमारीलाई तलेजुमा ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई क्वाठण्डौमा राखेर पूजा गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु