'घाइते छोरी बाटोमा हिँड्दै गरेको देखेपछि भगवान‍् आएजस्तो लाग्यो'

छिनोफानो   बिहिबार २८, असोज २०७८ १२:२९

मुगुः मंगलबार ३२ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाबाट बच्न सफल भएकी ६ वर्षीया बालिका डिर्चाज भइ घर फर्किएकी छन्। नेपालगञ्‍जबाट आमासँग दसैं मान्न घर आएकी छाँयानाथ रारा नगरपालिका–३ फुली गाउँकी भुमिका खड्का दुर्घटनामा घाइते भएकी थिइन्। उनी बस चालकको सिटको छेउमा बसेकी थिइन् । 

घाइते भुमिकालाई तत्कालै उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको थियो। उनी बुधबार डिस्चार्ज भइ घर फर्केकी हुन्। भुमिका अस्पातलबाट बुधबार डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए। 

उनका बुवाको ४ वर्षअघि निधन भएको थियो। श्रीमानको मृत्युपछि उनकी आमाले भर्खंरै दोस्रो विवाह गरेकी थिइन्। उनले छाँयानाथ रारा नगपालिका -६ कोटीला गाउँका युवकसँग विवाह गरेकी हुन्। 

दुर्घटना हुनुअघि उनकी आमा दुर्घटनास्थलभन्दा १ किलोमिटर पर झरि आफ्नो गाउँ कोटीलातिर गएकी थिइन्। छोरीले मामा घरजाने भनेपछि उनले भूमिकालाई बसमै पठाएकी र  माइतीघरमा भाइलाई लिन खबर गरेकी थिइन्। उता भूमिका मामा भान्जी लिन झर्ने स्थान पुगिसकेका थिए।

तर, छोरी झर्ने स्थान पुग्न दुई मिनेट नहुँदै बस दुर्घटनामा पर्‍यो । दुर्घटना भएको थाहा पाउने वित्तिकै भुमिकाकी आमा बीच बाटोबाटै फर्केर आउँदा छोरी दुर्घटनास्थल भन्दा १ सय मिटर तल बाटोमा घाइते अवस्थामा हिँडिरहेको देखिन् । उनको दाँया आँखामाथि चोट लागेको थियो । शरीरभरी माटो लागेको र अनुहारबाट रगत बगेको अवस्थामा छोरी भेटेपछि उनले तत्काल सदरमुकाममा एम्बुलेन्स पठाइदिन खबर गरिन्। सामुदायिक प्रहरीका अध्यक्ष रमेश मल्लले पठाएको बाइकमा घाइते छोरीलाई लिएर अस्पताल पुर्‍याएकी थिइन्।

'घटनास्थलको अवस्था हेर्दा छोरी कसरी बाँचेको होला भनेर होस् नै उडेको थियो । रुँदै गरेकी छोरी बाटोमा देखेपछि भगवान‍् अगाडि आएकोजस्तो भयो,' भुमिकाकी आमा उज्यली रावल ऐडीले भनिन्।'  उनी घटनास्थलभन्दा १ सय मिटर तल बाटोमा हिँडिरहेको अवस्थामा प्रहरी भेटाएको थियो ।

३२ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा भुमिकासहित अन्य १५ जना घाइते छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। १५ जनामध्ये ३ जनालाई नेपाली सेनाको हेलिकोप्टर र  १२ जनालाई हवाई जहाँजबाट तत्कालै उपचारका लागि नेपालगञ‍्ज लगिएको भएपनी चारजनाको उपचारकाक्रममा सोही दिन मृत्यु भएको थियो । भुमिकासहित नेपालगञ्जमा उपचार गराइरहेका ११ जानमध्ये ४ जना डिस्चार्ज भइसकेका छन्।

अन्नपुर्णपोष्ट बाट साभार 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु