अहिले नै नयाँ पार्टी खोलिहाल्ने पक्षमा छैन : नेता रावल

छिनोफानो   शनिबार १९, जेठ २०८१ १२:२३

 नेकपा (एमाले)का नेता डा. भीम रावलले तत्काल नयाँ पार्टी खोलिहाल्ने पक्षमा आफू नरहेको बताउनुभएको छ । नवलपुर सदरमुकाम कावासोतीमा गोरखा पत्रसँग कुरा गर्दै नेता रावलले यसबारेमा विभिन्न पार्टीका नेताहरुसँग निरन्तर छलफल गरिरहेको र सुझाव मागिरहेको बताउनुभयो ।

पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका नेता रावलले आफूलाई अछाम जिल्ला अधिवेशन हुँदै एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा निधेष गरिएको भन्दै आफू राजनीतिको एउटा घुम्तीमा पुगेको टिप्पणी गर्नु भएको थियो । त्यतिबेला उहाँले आफूले लिने मोडबारे केही दिनमा सार्वजनिक गर्ने समेत बताउनु भएको थियो ।

‘‘एमाले नेतृत्वबाट मलाई घचेटी–घचेटी घुम्तीमा पुर्याउने काम गरिएको छ,’’ नेता रावलले भन्नुभयो, ‘‘यस्तो अवस्थामा अव के गर्ने भन्ने विषयमा धेरै साथीहरुसँग मेरो परामर्श, कुराकानी जारी छ, पार्टी खोल्न पर्यो भने व्यवस्थित तरिकाले आफ्ना कुराहरुलाई खुल्ला झण्डा जस्तै बाहिर ल्याएर गर्छु, अहिले नै पार्टी छोड्ने भन्ने कुरा चाँही होइन ।’’

एमाले छोडेर नयाँ पार्टी खोल्ने काम गोप्य रुपमा नहुने भन्दै रावलले भन्नुभयो, ‘‘पार्टी खोल्न पर्यो भने सार्वजनिक रुपमै हुन्छ, अहिले नै त्यो विन्दुमा पुगिहालेको छैन ।’’ पार्टीमा विधि, प्रणाली र सिद्धान्त मिचिएको, आदर्श र नीतिहिन कृयाकलाप भएको भन्दै नेता रावलले त्यसले पार्टीलाई कमजोर बनाउने बताउनुभयो । त्यसलाई पार्टीले सच्चाउनु पर्ने उहाँको भनाइ थियो ।

यहि कुरा पार्टीमा राख्ने मन भए पनि पार्टी सदस्यबाहेक आफू केही नभएकाले जनताको बीचमा राख्ने अधिकार भने सुनिश्चित रहेको बताउनुभयो । ‘‘म त एउटा पार्टी सदस्य मात्र हुँ, सदस्यले जे गर्न सक्छ म त्यो गर्छु, बाँकी कुरा के गर्ने त्यो त पार्टी नेतृत्वले सोच्नुपर्छ,’’ रावलले भन्नुभयो ।

सबैलाई समेटेर पार्टी विधिबाट अघि बढ्नु पर्ने भन्दै त्यसो नभए समाजवाद ल्याउने कल्पना असम्भव हुने र कम्तिमा जनताको बहुदलीय जनवादअन्तर्गत अघि बढ्ने कुरा पनि असम्भव हुने उहाँको भनाइ थियो ।

अर्को प्रसंगमा नेता रावलले सहकारीको रकम अपचलन गर्ने जोसुकै भए पनि कडा कारवाही हुनु पर्ने बताउनुभयो । ‘‘नेपालको संविधानले नै सहकारीलाई अर्थतत्त्रको तीनमध्ये एउटा खम्बा मानेको छ, तर केही ठगहरुले दुई खर्बभन्दा बढी रकम ठगेको र एउटै संस्था गोरखा भिडिलो १६ अर्बभन्दा बढी ठेगेको तथ्यहरु बाहिर आइरहेका छन्,’’ रावलले भन्नुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु