सुदूर पश्चिममा बजेट निर्माणमा बिचौलियाको बिगबिगी

छिनोफानो   आइतबार २०, जेठ २०८१ ०१:३५

धनगढी, २० जेठ ।   सुदूर पश्चिम प्रदेश सरकारले ल्याउन लागेको बजेटमा आफ्ना योजना पार्न सुदूर पश्चिमका पहाडी जिल्लाहरुसंगै कैलाली र कञ्चनपुरका पालिका प्रमुखहरु, बिचौलिया र पूर्व जनप्रतिनिधिहरुको धनगढीमा भीड लागेको छ ।

यो प्रकृयामा कतिपय प्रदेश सभा सदस्यहरु नै संलग्न छन् । कतिपय प्रदेश सभा सदस्यहरु भने बिचौलियाको आग्रह र दवावका कारण हैरान भएका छन् । बिचौलियाहरुले प्रदेश सभा सदस्यको लेटरप्याडमा योजनाहरुको सिफारिस गरिरहेका छन् ।

लेटरप्याडमा योजना सिफारिस गरिदिनु पर्यो । म योजना पार्छु भनेर बिचौलियाहरुले लेटरप्याड मागेर हैरान गरेका छन्,एक जना प्रदेश सभा सदस्यले भने, चिन्दै नचिनेका मान्छेहरु पनि लेटरप्याड मागिरहेका छन् ।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारी निकट व्यक्तिहरुले बिभिन्न क्षेत्र, व्यवसाय र भूगोलका व्यक्तिहरुलाई फोन गरेर योजना पारिदिन्छु भन्दै बोलाउने गरेको स्रोतले बतायो ।

बिचौलियाहरुलाई सरकारले परिचालन गरेको स्रोतको दावी छ । सरकारमा रहेका व्यक्तिहरुले आफू योजना बेचेको आरोपबाट जोगिने र आरोप जति प्रदेश सभाहरुमाथि लाग्ने गरी योजना निर्माण गरिरहेका छन् ।

बाहिरबाट हेर्दा प्रदेश सभा सदस्यहरुको सिफारिसको बजेट बिनियोजन गरेको देखिनेछ, प्रदेश सभा सदस्यले भने, तर ती योजनाका बारेमा प्रदेश सभा सदस्यहरुलाई थाह हुने अवस्था छैन ।

प्रदेश सरकार भने बजेटको स्रोत सुनिश्चित नभए पनि सबैलाई मिलाउने, खुशी पार्ने र बिचौलिया मार्फत पैसा कमाउने उद्देश्यले बिगतमा भन्दा बजेटको आयतन बढाउने तयारीमा रहेको एक प्रदेश सभा सदस्यले बताए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता सोडारीले डेढ महिना बित्दा पनि सरकार विस्तार गर्न सकेका छैनन ।
बजेट निर्माण प्रकृया अन्तिम चरणमा पुग्दा अर्थ मन्त्रालय समेत रिक्त छ । अर्थमन्त्रालय पनि सोडारीकै मातहतमा छ । सोडारीलाई विश्वासको मत दिएपनि एमाले र माओवादी सरकारमा सहभागी भएको छैन । प्रदेश सरकारमा मुख्यमन्त्री सोडारी सहित नागरिक उन्मुक्ति पार्टीका तर्फबाट दुई जना मन्त्री समेत गरी तीन जना मात्र सहभागी छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु