सुदुरपस्चिममा विद्युत महसुल नतिर्ने ३ हजार घरको लाइन काटियो

छिनोफानो   बुधबार ३०, जेठ २०८१ ०१:५९

धनगढी ।  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका समयमै विद्युत् महसुल नबुझाउने तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ।

सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ लाख बक्यौता रकम मध्ये लाइन काटेर प्राधिकरणले साढे चार करोड महसुल असुल गरेको प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सय १२ जना ग्राहको विद्युत् लाइन काटेको छ।

विद्युत् महसुल तिर्न अटेरी गर्दा बाध्य भएर लाइन काट्नु परेको उनको भनाई छ । सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन काटिएको हो।  नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका तीन हजार ७ सय १२ ग्राहक मध्ये २ हजार ५ सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन्। लाइन काटिएका एक हजार एक सय ५० ग्राहकले अझै लाइन जोडेका छैनन्।

लाइन जोड्ने ग्राहकबाट प्राधिकरणले यो वर्ष चार करोड ५३ लाख ७४ हजार बक्यौता रकम असुल भएको निर्देशक चन्दले बताए। नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गरिरहेको छ। सुदूरपश्चिममा प्राधिकरणका तीन लाख ६७ हजार २७० ग्राहक रहेका छन्। यो सङ्ख्या गत वर्षको भन्दा २८ हजारले बढेको निर्देशक चन्दले बताए।

सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु