काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्रालयलाई रुलिङ गर्नुभएको छ।
आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गर्नुभएको हो। उहाँले आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताउनुभयो। उहाँले सांसदले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘आकस्मिक समय, शून्य समय लगायत जुन समयमा मान्य सदस्यले विषय उठाउनु हुन्छ, ती विषयहरु सधैँ जसो सम्बन्धित मन्त्री कहाँँ पठाउने पनि गरेका छौँ। हरेक दिन पठाएका छौँ। यहाँ उठेका विषयका बारेमा जवाफ दिन मन्त्रीको कार्यतालिका नै हामीले दिइसकेका छौँ। यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ। आज उठेका विषय जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु।’’
आइतबारको बैठकमा सांसदले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए।
प्रतिकृया दिनुहोस