राहत र उद्धारमा तदारुकता अपनाउन मुख्यमन्त्री सोडारीको निर्देशन

छिनोफानो   आइतबार २३, असार २०८१ ०१:१८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विपत्तिमा परेकालाई राहत र उद्धारका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सोडारीको अध्यक्षमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री सोडारीले सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिँदै राहत र उद्धारमा तदारुकताकासाथ लाग्न निर्देशन दिनुभएको हो ।

पछिल्लो केही दिनयता सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । कैलाली कञ्चनपुरको कैयौँ बस्ती डुबानको चपेटमा परेका छन् । बैठकमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दार्चुलाको मालिकार्जुन, बैतडीको ढोल्यामोड, बझाङको तमैल, बाहुलीगाड, बुडर–जोगबुढा सडकको आलिताल र अछामको साँफे–मार्तडी सडकखण्डमा पहिरो जाँदा सडकमार्गहरु अवरुद्ध भएको जानकारी दिनुभएको थियो ।

पहिरोहरु धेरै ठुलो नभएकाले यथाशीघ्र पहिरो हटाएर सडक यातायात सूचारु गर्ने काम पनि जारी रहेको उहाँको भनाइ थियो । डडेल्धुराको रडुवामा खसेका पहिरो पन्छाइएकोले डडेल्धुरा डोटी सडक अहिले एकतर्फी सञ्चालनमा आएको छ ।

यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको जोखिममा परेका दार्चुलाको मार्मा गाउँपालिका–२ का १० परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा, अछामको चौरपाटी गाउँपालिका–६ का ९ परिवार र मङ्गलसेन नगरपालिका–८ का ९ परिवारलाई सुरक्षित ठाउँमा सारिएको जानकारी प्रदेशका प्रहरी प्रमुख केसीले दिनुभयो । हालसम्म मानवीय क्षति भने भएको उहाँको भनाइ छ ।

महाकाली कर्णाली, मोहोना तथा कन्द्रा लगायताका नदीमा पानीको सतह बढ्दै गइरहेका छन् । जसका कारण नदी तटीय बस्ती अझै जोखिममा पर्ने देखिएको छ । पहाडी जिल्लामा निरन्तर पहिरो गइरहेकोले अन्य सडकहरु अवरुद्ध हुनसक्ने अवस्था छ । बैठकपछि मुख्यमन्त्री कार्यालयले उद्धारका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु