गोवा जान हिँडेका सय बढी नेपाली यात्रुलाई बाटोमा सास्ती

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०४:४१

नेपालगन्ज ।   नेपालबाट भारतको गोवा जाने भनि भारतीय बसमा चारदिन अघि त्यसतर्फ हिँडेका पश्चिम नेपालका विभिन्न जिल्लाका सय जना नेपाली अझै गोवा पुगेका छैनन्।

भारतीय बसका लागि नेपालगन्जमा टिकेट काट्ने दुई वटा टुर्स एण्ड ट्राभल्स प्रालि र बसका सञ्चालकका कारण ती यात्रुले बाटोमा निकै सास्ती भोग्नु परेको हो । 

नेपालगन्जमा रहेको पञ्चवटी टुर्स एण्ड ट्राभल्स प्रालि र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रालिले भारतीय बस सञ्चालकलाई समयमा टिकेटको रकम नपठाएपछि नेपाली यात्रुलाई बाटोमा दुई दिन अलपत्र पारिएको थियो।

रुपैडिहाबाट हिँडेको दुई दिनसम्म पनि रकम नपाएपछि नेपाली यात्रु बोकेको यूपी ९३ बी टी ९९४४ नम्बरको बसका सञ्चालकले भारतको मध्य प्रदेशको मस्के भन्ने स्थानमा दुई दिनसम्म यात्रुलाई अलपत्र पारेको सो बसका यात्रु रुकुम पश्चिम त्रिवेणी ७ का मोहन खड्काले फोनमा बताउनुभयो।

उहाँले नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा आफन्त मार्फत उजुरी दिएर टिकेट काट्नेलाई पक्राउ गराएपछि उनीहरुले तेस्रो दिन पैसा पठाएको र त्यसपछि मात्रै बस गन्तव्यतर्फ हिँडेको बताउनुभयो।

तीन दिनमा गोवा पुग्नु पर्नेमा पाँचौ दिन पनि नपुगेकोे बताउनुभयो।पश्चिम नेपालको रुकुमपश्चिम, दाङ, सल्यान, कैलाली र नेपालगन्जका करिब सय जना यात्रुले नेपालगन्जमा रहेको पञ्चवटी टुर्स एण्ड ट्राभल्स प्रालि र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रालिबाट टिकेट काटेर शनिबार बेलुकी नाकापारी रुपैडिहाबाट गोवाका लागि भारतीय बसमा सवार भएर हिँडेका थिए।

बसमा क्षमता भन्दा धेरे बढी यात्रु कोचाकोच पारेर ल्याएको जनाउँदै नेपालमा रहेका दुईवटा टुर्स एण्ड ट्राभल्स प्रालिले समयमा रकम नपठाउँदा नेपाली यात्रुले बाटोमा अनावशयक दुख पाएको सोही बसका अर्का नेपाली यात्रु दांग घोराहीका मनिषा सिंहले गुनासो गर्नुभयो।

उजुरी परेपछि नेपालगन्जमा प्रहरीले ती दुबै टुर्स एण्ड ट्राभल्स प्रालिका आधिकारिक व्यक्तिलाई वडा प्रहरी कार्यालयमा बोलाएर यात्रुको समस्या जानकारी गराई रकम तिर्न लगाएको थियो। 

पञ्चवटी टुर्स एण्ड ट्राभल्स प्रालि र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रालिका कर्मचारीले विभिन्न कारणले रकम पठाउन नसकेको जनाउँदै सोमबार बिहान रुपैडिहामा मानिस पठाएर रकम बस सञ्चालकको खातामा हाल्न लगाएका थिए।

पञ्चवटी टुर्स एण्ड ट्राभल्स प्रालिका ऐन बहादुर बस्नेतले आफु्हरुले पैसा पठाउन केही ढिला भएको स्वीकार गर्दै अब त्यस्तो नहुने बताउनुभएको छ।

गोरखापत्र अनलाइन

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु