खाली हुँदै बाजुराका गाउँ बस्ती

छिनोफानो   बुधबार १६, साउन २०८१ ०६:२१


बाजुरा, साउन १५ गते । बाजुराका नौ वटै पालिकाका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका छन् । बाजुरामा साउन पहिलो हप्ता धान रोपाइँ सकिएपछि युवा सबै रोजगारीका लागि धमाधम भारत जानथालेपछि यहाँका गाउँबस्ती खाली हुँदै गएका हुन् ।

साउनको पहिलो हप्तासम्म धान रोपाइँ सकिएपछि सबै युवा रोजगारीका लागि धमाधम भारतमा जान थालेपछि अहिले यहाँका गाउँ बस्ती खाली हुँदै गएको बुढीगङ्गा नगरपालिका–१० का स्थानीय रमेश सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “युवाका लागि गाउँमा केही रोजगारी मिल्दैन । यही बसेर केही व्यवसाय गरौँ भने उनीहरू सँग आयस्रोत छैन । असारमा धान खेती गर्न गाउँ आउँछन् त्यसपछि रोपाइँ सकेर फेरि ती सबै युवा धमाधम भारतमै जान्छन् ।”

यहाँ दसैँ तिहार र असारको केही दिन गाउँ बस्ती युवाले भरिभराउ हुन्छ । त्यसपछि सबै युवा कामको खोजीमा भारतमा जाने गरेकोले अरू महिना सधैँ यसरी नै गाउँ खाली हुने गरेको सार्कीले बताउनुभयो ।

बदेडा गाउँमा झण्डै दुई सय परिवारको बसोबास छ । यी प्रत्येक घरका सबै युवा अहिले भारतका विभिन्न ठाउँमा काम गरिरहेका छन् ।

सबै भन्दाबढी बुढीगङ्गा नगरपालिका युवा प्राय बढी भारतमा जाने गर्दछन् । यहाँका युवा मात्र होइन महिला पनि भारतमा गएर रोजगारी गर्ने गरेका छन् ।

बुढीगङ्गा नगरपालिका–१० बदेडा तिमाडा सिगाडाका धेरै पुरुष तथा महिलाहरू कामको खोजीमा भारतमा जाने गर्दछन् । त्यहाँ पुरुष चौकीदारी र महिलाहरूले घर–घरमा गएर खाना पकाउने लुगा धुने काम गर्दछन् ।

गाउँमा युवा कोही छैन । पढे नपढेका सबै युवा साउन लागेसँगै भारतमा गए । आफूले पनि उच्च शिक्षा पास गरेको छु । अरू सबै भारतमा गए आफू गाउँमा केही काम पाइन्छ की भनेर बसेको सार्कीले बताउनुभयो ।

कतिपय बाजुराका युवा प्रायः साउनको दोस्रो साताबाट स्याउ टिप्ने काम मिल्ने भएकाले त्यही कामका लागि भारतको सिम्लामा जान थालेको बडिमालिका नगरपालिका–६ मनाका मानबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यति बेला भारतको सिम्लामा स्याउ पाक्ने समय हो । त्यही स्याउ बोक्नका लागि गाउँका धेरै युवा भारतको सिम्ला जाने गरेका छन् ।”

असारमा रोपाइँ सकेर यहाँका धेरै युवा सिम्ला जान्छन् । त्यहाँबाट दुई चार लाख कमाइ गरेर फेरि दसैँमा घर आउने गरेको साउँदले बताउनुभयो । तर पनि दिनप्रतिदिन यहाँका धेरै युवा कामको खोजीका लागि नै भारतका विभिन्न ठाउँमा भौँतारिने गरेका छन् ।

भारतमा गएर गाउँमा परिवार पाल्ने चलन बाजुरामा पहिलादेखि अहिलेसम्म उस्तै रहेको छ । कामका लागि जसरी पहिला यहाँका स्थानीय भारतमा जाने गर्थे अहिलेका युवा पनि कामका लागि भारत नै  जाने गर्दछन् ।

जिल्लाको हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका अधिकांश युवा प्रत्येक वर्ष कामको खोजीमा भारत जाने गर्दछन् ।

बेरोजगार युवालाई गाउँमै राख्ने गरी प्रत्येक वर्षमा कृषि कार्यक्रम सञ्चालन ल्याएको कतिपय यहाँका स्थानीय जनाएका छन् ।

त्यस्तै, बुढीगङ्गा नगरपालिकाको तीन वटामा ग्रामीण सडक कालोपत्रे गरिने भएकाले यहाँका बेरोजगार युवालाई गाउँमै रोजगारी दिने कुनै कार्यक्रम नभएको बुढीगङ्गा नगरपालिका –१० का वडा अध्यक्ष दलबहादुर साउदले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु