बाढीले कोशी राजमार्ग बगायो

छिनोफानो   बुधबार ०३, कार्तिक २०७८ ०८:३९

अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक भत्काएको छ ।

सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार बाढीले साँगुरीगढी गाउँपालिका–६ फेदीमा करिब ५० मिटर सडक बगाएको हो । मंगलबर अपराह्न ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई बाढी कोशी राजमार्गमा पसेको हो । अहिले यातायात पूरै अवरुद्ध भएको छ ।

धरानबाट गएका तथा धनकुटाबाट आएका सयौं गाडी बीच बाटोमै रोकिएका छन् । सडक बगाएपछि धनकुटासहित तेह्रथुम, भोजपुर तथा संखुवासभाबाट तराई झर्ने तथा तराईबाट धनकुटासहित तेह्रथुम भोजपुर तथा संखुवासभा जाने सवारीसाधान बाटैमा रोकिँदा सयौं यात्रु अलपत्र परेका छन् । पानीको बहाव बढेका कारण सडक अझैं क्षति हुने सम्भावना रहेको राईले बताएकी छन् । तत्काल कुनै वैकल्पिक बटो बनाउने अवस्था पनि छैन ।

बाढीले सडक बगाएको क्षेत्रमा कुनै बस्ती भने छैन । बाटो बगाएदेखि ३ मिटर वर फेदी खोलामा पुल छ । त्यहाँ केही होटल र घर छन् । यस्तै हिले भोजपुर सडक पनि बन्द भएको छ। हिले भोजपुर सडकखण्डअन्तर्गत पाख्रिवास नगरपालिका–६, डिकुरेमा सडकमा ढुंगासहितको लेदो निरन्तर बगिरहेको छ ।

बाटो खुलाउन प्रहरी डोजर घटनास्थल पुगे पनि निरन्तर वर्षाका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नहकुल पोख्रलले बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु