माओवादी केन्द्रको स्थायी समिति बैठक : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा उठाउनुपर्नेमा जोड

रासस   आइतबार २७, साउन २०८१ १०:५५

काठमाण्डौ – माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा उठाएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ । प्रमुख दुई दल कांग्रेस र एमालेको वर्तमान सत्ता गठबन्धनले स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका बेला सत्ता बाहिर रहेको माओवादीले कार्यकारी राष्ट्रपतिको एजेन्डा पुनः उठाउने गरी छलफल अघि बढाएको हो । स्थायी समितिको हिजोको बैठकमा नेताहरूले संविधान निर्माणका क्रममा थाती राखिएको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पार्टीले पुनः अघि बढाउनुपर्ने धारणा राखे ।

बैठकपछि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग रहेको बताउनुभयो । प्रवक्ता सापकोटाले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यही विषयलाई प्राथमिकताका साथ राखेको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राख्नुभएको छ । उहाँले समाजवादी मोर्चासँगै बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव गर्नुभयो ।

बैठकमा माओवादी नेताहरुले अब सरकारभन्दा सङ्गठन निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । उपमहासचिव वर्षमान पुन, सचिव चक्रपाणि खनाललगायतले अबको प्राथमिकता सरकार नभई पार्टी हुनुपर्नेमा जोड दिनुभयो । माओवादी केन्द्रको स्थायी समितिको बैठक अस्ति शुक्रवारदेखि केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल केन्द्रित छ । बैठक आज पनि बस्दैछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु