युक्रेनी सेना रुसको ३० किलोमिटर भित्रसम्म पुग्यो, केही गाउँ कब्जामा

छिनोफानो   सोमबार २८, साउन २०८१ ०४:०९

रुसी आक्रमणविरुद्ध प्रत्याक्रमण गरिरहेको युक्रेनी सेना रुसी भू–भागमा ३० किलोमिटर भित्रसम्म पुगेको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण शुरू गरेयता युक्रेनी सेना रुसी भू–भागमा सबैभन्दा भित्रसम्म पुगेको बीबीसीले जनाएको छ ।

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो । रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो फौजबाट रुसी भू–भागमा आक्रमण भएको स्वीकार गर्नुभएको छ ।

एक जना युक्रेनी वरिष्ठ अधिकारीले हजारौँ सैनिक रुसको भू–भागमा पुगेर कारबाही गरिरहेका बताएका एएफपीले जनाएको छ । युक्रेनी सेनाले कुर्स्क क्षेत्रका केही बस्तीहरू कब्जामा लिएको जनाएको छ ।

युक्रेनी सीमाभन्दा तीन किलोमिटरभित्र रुसको ग्वेभो गाउँमा सैनिकहरूले प्रशासकीय भवनहरूबाट रुसी झन्डा हटाइँदै गरेको भिडिओ सार्वजनिक भएको छ । रुसले कुर्स्कको आणविक ऊर्जा केन्द्र नजिकै आफ्नो रक्षा पङ्क्ति तयार गरिरहेको छ । युक्रेनी सैनिकहरू त्यहाँभन्दा ५० किलोमिटर टाढा छन् ।

रुसले कुर्स्कको सीमा क्षेत्रबाट ७६ हजार जना मानिसलाई उद्धार गरेको र त्यहाँ स्थानीय प्रशासनले सङ्कटकाल घोषणा गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु