बाढी प्रभावित थामे गाउँमा राहत वितरण हुँदै, प्राविधिकको टोली पनि जाँदै

छिनोफानो   शनिबार ०१, भदौ २०८१ ०९:१३

काठमाण्डौ – हिजो दिउँसो अचानक आएको बाढीका कारण विस्थापित भएका सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेका बासिन्दालाई आज राहत वितरण हुँदैछ । आज हेलिकोप्टरमार्फत राहत सामग्री लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले उज्यालोलाई जानकारी दिनुभयो ।

विस्थापित एकसय ४० जना आफन्तको घर र होटलमा बसेका छन् । उनीहरुलाई तत्काल खान र बस्नको समस्या नभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । उहाँका अनुसार बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको छ ।

प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा पनि क्षति पुगेको छ । थामे खोलाको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ । दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा हिजो दिउँसो एक्कासी बाढी आएको हो ।

दिउँसोको घटना भएको हुनाले ठूलो मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाअनुसार बाढीबाट प्रभावित थामे गाउँमा ४५ घरधुरीमा झण्डै साढे तीन सय मानिस बसोबास गर्छन् । तर अहिले पर्यटकीय सिजन नभएकाले आधाभन्दा बढी बासिन्दा काठमाण्डौ लगायतका अरु ठाउँमा बस्दै आएका छन् । थामे गाउँमा कसरी अचानक बाढी आयो भन्नेबारे केही खुलेको छैन ।

कुनै हिमताल बिस्फोट भएको हुन सक्ने आशङ्का गरिए पनि यकिन हुन बाँकी छ । जल तथा मौसम विज्ञान विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी छवटा हिमताल, हिमपोखरी रहेको देखिन्छ ।

निरन्तर वर्षा र तापक्रम वृद्धिले त्यस क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालमध्ये कुनै हिमताल बिष्फोट भएको हुन सक्ने विभागले निकालेको विज्ञप्तिमा उल्लेख छ । त्यस क्षेत्रको नजिक रहेको फोर्त्से  केन्द्रमा विगत ७ दिनमा कुल ६५ मिलिमिटर वर्षा मापन भएको छ दुधकोशीको तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बाढीको कारणबारे अध्ययन गर्न प्राविधिक टोली पनि आज घटनास्थल जाँदैछ । राहत सामग्री लिएर जाने टोलीले प्रभावित क्षेत्रको अध्ययन गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु