धर्मभित्र ‘धन्दा’ चलाइरहेका महाराज !

छिनोफानो   शनिबार ०१, भदौ २०८१ ०१:३४

काठमाडौं । रत्नाकार डाकु ‘वाल्मीकि’ ऋषिमा रुपान्तरण भएको प्रसंग धरै पुरानो भयो । वर्तमान विश्वमा पनि मानिसहरु गलत बाटो परित्याग गरी सत्मार्गमा आएका उदारहण थुप्रै छन् । तर, के ‘विजय कृष्ण मुर्तिजी महाराज’ का हकमा पनि यो लागू होला त ? आशंका गर्ने ठाउँ छ ।

पशुपति मन्दिरमा एक महिनासम्म चलेको कोटिहोमका एकल आयोजक वा संकल्पकर्ता हुन् बाल योगेश्वर श्री विजय कृष्ण मुर्तिजी महाराज उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी । उनले यो एक महिनामा देशका एक से एक धार्मिक अगुवा, कथावाचक, पण्डित अभियन्तादेखि कलाकारसम्मलाई महायज्ञस्थलमा उतारे । यो बीचमा कयौं विवादहरु उब्जिए र सेलाए, तर कोटीहोम सेलाएन । अन्तिम दिनसम्मै हजारौं भक्तजन कोटीहोममा भिड लागेर द्रव्यदानको होड गरिरहेका छन् ।

आफूले गरेको दान कहाँ प्रयोग हुन्छ, वा दुरुपयोग हुन्छ भन्नेमा समेत अधिकांशले चासो राखेको पाइंदैन । हुन त उनीहरुलाई जबरजस्ति गरेर पैसा असुलिएको पनि छैन । तर, भण्डारीले भक्तहरुबाट प्राप्त भएको दान एकल तजबिजमा खर्च गरिरहेको छर्लंगै देखिन्छ ।

के महायज्ञमा उठेको रकम संकल्पकर्ताले मनमौजी रुपमा खर्च गर्न वा आफ्नो व्यक्तिगत बनाउन सक्छन् ? त्यसतर्फ जानुअघि सुरुमा भण्डारीलाई नजिकबाट चिन्ने प्रयास गरौं, जसले गेरु वस्त्रको आडमा मानिसहरुलाई भुलभुलैयामा पारेर धर्मलाई आफ्नो ‘धन्दा’ बनाएका छन् । अहिले पण्डितको भेषमा कोटिहोम लगाइरहेका भण्डारी ठगीको मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत काटेका व्यक्ति हुन् ।

माओवादीदेखि ‘खाओवादी’ सम्मको यात्रा

गुल्मीको घुर्कोटवस्तु १ मा २०४४ साल असार १ गते जन्मेका विजय भण्डारीले आफ्नो प्रारम्भिक शिक्षा जन्मस्थान गुल्मीबाटै प्राप्त गरे । उनका बुवा मनिराम माओवादीका एरिया कमिटी सचिव थिए । बाबुको पदचिन्हमा हिँड्दै विजय पनि माओवादीनिकट अखिल क्रान्तिकारीमा संलग्न भए । तर, प्रहरीको निशानामा परेपछि ८ कक्षा पढ्दै गर्दा गाउँ छोडेर काठमाडौं आए र यहीँबाट एसएलसी उत्तीर्ण गरे ।

काठमाडौंको थानकोटमा रहेको अरविन्द योगा मन्दिर आश्रममा बसेर माउन्ट भ्याली विद्यालयबाट उनले एसएलसी पास गरेका थिए । बुवा मनिरामलाई माओवादीले आर्थिक हिनामिना गरेको आरोपमा पार्टीबाट निस्काशन गर्दै गर्दा यता छोरा पनि आश्रमबाट निकालिए । कान्तिपुर दैनिकले २०७६ सालमा प्रकाशित गरेको एक समाचारमा उल्लेख भए अनुसार उनले गाडीको टायर चोरेको आरोप प्रमाणित भएपछि आश्रमबाट लखेटिएका थिए ।

एसएलसीपछि भण्डारीले के–कति अध्ययन गरे भन्ने स्पष्ट छैन । यद्यपि, उनले बैंगलोर लगायत विभिन्न विश्वविद्यालयबाट संस्कृतमा उच्चशिक्षा लिएको दाबी गर्छन् । २०६८ बाट भण्डारीे गेरुवस्त्र धारण गरेर पुराण भन्न थाले । २०६८ वैशाखमा उनले ५ लाख रुपैयाँ जुटाएर कलंकीमा भागवत पुराण लगाए । त्यसबाट राम्रै आर्थिक उपार्जन भएपछि उनले यसैलाई आफ्नो ‘व्यवसाय’ बनाउँदै आएका छन् । विभिन्न स्थानमा महायज्ञ, धानाञ्चल, कोटिहोम आदि नाममा धार्मिक अनुष्ठानको व्यवस्थापन गर्दै त्यसमा उठेको ठूलो दान रकम कुम्ल्याउने गर्छन् ।

२०६८ सालमै उनले मानव कल्याण आध्यात्मिक परोपकार संघ नाम संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे । आफ्नो नाम आफैंले बदलेर ‘विष्णु प्रपन्नाचार्य महाराजजी’ कहलाए । उनले आफ्नो संस्थामार्फत अमेरिकामा धार्मिक कार्यक्रम गर्ने भन्दै पैसा उठाउन थाले । धार्मिक अनुष्ठानका लागि नेपालबाट १०८ जना अमेरिका लैजाने भन्दै उनले जनही १ लाख रुपैयाँ उठाउने अभियान चलाएका थिए । कूल खर्च ५ लाख ५० हजार लाग्ने बताएर सुरुमा पेस्कीस्वरुप १–१ लाख उठाउन सफल भए ।

तर, अमेरिकामा त्यस्तो कुनै कार्यक्रम नरहेको थाहा पाएपछि पैसा दिनेहरुले फिर्ता माग्न थाले । केहीलाई उनले चेक दिएर थुम्थुम्याए । तर, खातामा पैसा नभएपछि पीडितहरु प्रहरीदेखि वैदेशिक रोजगार विभागसम्म धाउन थाले । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा ३३ जनाले एक करोड ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा भण्डारीविरुद्ध उजुरी दिएका थिए ।

अन्ततः २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले भण्डारीलाई दसैं मनाएर घरबाट फर्कने क्रममा पक्राउ गर्यो । भण्डारीसँगै उनकी श्रीमती सुलोचनाविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा २०७१ असोज १ गते मुद्दा दायर भयो । एक जनाले ३ लाख रुपैयाँ सुलोचनाको नाममा पठाएकाले उनी पनि फन्दामा परेकी थिइन् ।

नेपाल प्रेसबाट साभार 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु