गण्डकीमा एमाले र कांग्रेसबीच सत्ता सहकार्यमा ढिलाइ

छिनोफानो   शुक्रबार ०७, भदौ २०८१ ०६:३२

कास्की – गण्डकी प्रदेशमा नेपाली कांग्रेस  र नेकपा (एमाले) बीच सत्ता सहकार्यमा ढिलाइ भइरहेको छ । नयाँ सत्ता समीकरणअनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि गण्डकीमा भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ ।

सत्ता साझेदारीका विषयमा पटक–पटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले दलहरूबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न बाँकी रहेको बताउनुभयो ।

गण्डकीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ । मुख्यमन्त्री पाण्डेले अहिलेको सरकारमा मन्त्री रहनुभएका नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुनर्गठन गर्न चाहेको प्रदेशसभा सदस्य सुवेदीले बताउनुभयो । विगतमा अप्ठेरो अवस्थामा सरकारलाई साथ दिएका प्रदेशसभा सदस्यलाई कांग्रेसले सरकारबाहिर राख्न नसक्ने उहाँले बताइसक्नुभएको छ ।

प्रदेशसभा सदस्य देवकोटा र गुरुङको निर्णायक समर्थनमा मुख्यमन्त्री पाण्डेले गएकाे जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो ।

एमाले गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले औचित्य पुष्टि हुने गरी मन्त्रालय थप गर्ने विषयमा एमाले सकारात्मक रहेको बताउनुभयो । आफ्नो सरकारका पालामा मन्त्रालय सङ्ख्या घटाएर जनस्तरबाट प्रशंसा बटुलेको एमालेले अहिलेको सरकारले पनि मन्त्रालय नथपोस् भन्ने चाहन्छ ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेकपा (माआवादी केन्द्र) का जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु