तनहुँ बस दुर्घटना अपडेट : १४ जनाकाे शव निकालियाे, १६ जना घाइतेलाई अस्पताल पठाइयाे

छिनोफानो   शुक्रबार ०७, भदौ २०८१ ०१:५९

काठमाण्डाै – तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाकाे ज्यान गएकाे छ ।

घटनास्थलबाट १४ जनाकाे शव निकालिएकाे र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ ।

उद्धार कार्यमा गोताखोरसहितको टोली खटिएको छ । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जना र नम्बर–२३ मनकामना गणबाट ३५ जनाको फौज खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अप्ठेराे ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी उद्धारकाे काम भइरहेको छ । घाइतेहरूलाई सडकसम्म ल्याउन डोरीमा बास्केट स्ट्रेचर रहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ ।

घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु