न्यून बजेटले काममा ढिलाइ

छिनोफानो   बुधबार २६, भदौ २०८१ १०:३९

कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम पूरा गर्न ढिलाइ भइरहेको छ । बजेट अपुगका कारण थप गरिएको समयमा पनि हुलाकीको काम पूरा गर्न सम्भव नभएको हो । हुलाकी स्तरोन्नतिको कुल लागत एक अर्ब ६१ करोड रुपियाँ रहे पनि सरकारले एकमुस्ट बजेट उपलब्ध गराएको छैन । चालु आर्थिक वर्षमा ३२ करोड रुपियाँ हुलाकी राजमार्ग स्तरोन्नतिका लागि पठाइएको थियो । जसमध्ये २२ करोड रुपियाँ गत आवकै बक्यौता भुक्तानीमा सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ । 

सो कार्यालयका अनुसार अब दसैँसम्म काम गर्नका लागि पनि बजेट छैन । बाँकी रहेको १० करोड रुपियाँले केही दिन मात्रै काम हुने आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर बर्ख कठायतले बताउनुभयो । “हाम्रो दायित्व बढी छ तर सरकारले थोरै मात्रै बजेट पठायो,” उहाँले भन्नुभयो, “जति बेला बढी काम गर्ने समय सुरु हुन्छ, त्यही समयका लागि हामीसँग बजेट छैन ।” बर्सातभन्दा हिउँदयाममा निर्माणको काम अगाडि बढाउन सहज हुने गर्दछ । बजेट सकिएपछि निर्माण कम्पनीले पनि काम रोक्ने, राम्ररी काम नगर्ने गरेको आयोजनाले जनाएको छ । चालु आवमा पठाइएको बजेट सकिएपछि सरकारसँग थप बजेट माग गरिने कठायतले बताउनुभयो । 

कैलालीमा आव २०७७/७८ देखि हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र बाँकी अरू क्षेत्रमा दुई लेनको राजमार्ग बनिरहेको छ । धनगढीको गुरही चोक (क्याम्पस रोड चोक) देखि सत्तीसम्म ६९ किलोमिटर र लम्की–टीकापुर–खक्रौलासम्मको २९.७ किलोमिटरमा राजमार्ग स्तरोन्नतिका लागि काम भइरहेको छ । धनगढीको गुरही चोकदेखि पूर्व सत्तीसम्मको सडकखण्डको ४३ किलोमिटरमा कालोपत्रे बनिसकेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । यस खण्डको कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाको केही क्षेत्रमा गरेर ३६ किलोमिटरमा स्तरोन्नतिको काम हुन अझै बाँकी छ । 

कैलालीमा चार तहमा कालोपत्रेको काम पूरा भइसके पनि अन्यमा काम गर्न अझै बाँकी रहेको सूचना अधिकारी कठायतले बताउनुभयो । “बजेट अपुग भएकाले चालु आवभित्र स्तरोन्नतिको काम पूरा हुने देखिँदैन,” उहाँले भन्नुभयो, “यसै गरी थोरै थोरै बजेट आएमा सम्पूर्ण कार्य पूरा गर्न अझै केही वर्ष लाग्न सक्छ ।” 

धनगढी–भजनी–सत्ती खण्डमा चार र लम्की–टीकापुर–खक्रौला खण्डमा तीन प्याकेज बनाएर स्तरोन्नतिको कार्य भइरहेको छ । विभिन्न निर्माण कम्पनीले काम गरिरहेका छन् । यी खण्डमा राजमार्ग स्तरोन्नतिका लागि तोकिएको समयावधि सकिएपछि कुनै कम्पनीको आगामी पुस, कुनैको जेठसम्म म्याद थप गरिएको छ । कैलालीको विभिन्न क्षेत्रमा हुलाकी राजमार्ग जीर्ण बनेको छ । स्तरोन्नतिको कार्य ढिलाइ भएपछि धनगढी उपमहानगरपालिका–१९, कैलारी गाउँपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रमा हुलाकी राजमार्ग जीर्ण बनेको छ ।   गोरखापत्र 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु