दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि

छिनोफानो   बिहिबार २७, भदौ २०८१ १०:४०

दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ । एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका छन् । 

वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सङ्घका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दसैँमा सहरबाट गाउँ र विदेशबाट स्वदेश फर्किन यात्रुले आफ्नो गन्तव्यको टिकट लिन सुरु गरिसकेका छन् । सुगमतर्फका गन्तव्यमा उडान चाप समान्य रहे पनि आन्तरिक उडानको महत्वपूर्ण रुट मानिने तुम्लिङटार र सुर्खेतलगायतका गन्तव्यमा हवाई टिकट लिने यात्रुको सङ्ख्या बढिरहेको सुन्नमा आएको छ ।”

अहिले मौज्दात जहाजको र उडान सङ्ख्याका आधारमा दसैँलक्षित कुनै पनि गन्तव्यमा थप उडान गर्नेबारे हवाई कम्पनीबिच छलफल नभएको उहाँले जानकारी दिनुभयो । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताउनुभयो । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दसैँलक्षित बुकिङसमेत सुरु भएको जानकारी दिनुभयो । 

यसैगरी दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ । 

दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यस पटक पनि समयमै खुला गरी सहज र सुरक्षित यात्रा गराइने महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो । यातायात व्यवसायीले विगतमा जस्तै सर्तहरू भने राखेका छन् । बर्सातमा भत्किएका सडक मर्मत गर्नुपर्ने, दुई वर्षदेखि रोकिएको भाडादर समायोजन गर्न माग गरेका छन् । यातायात व्यवस्था विभागले पनि व्यवसायीसँग छलफल गरी असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “सडक मर्मतका लागि मातहतका निकायलाई भनिरहेका छौँ, सडकको मर्मत हुन्छ ।”    

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु