प्रसारण लाइनमुनि बस्ती दैनिक जोखिम बढ्दै

छिनोफानो   बिहिबार २७, भदौ २०८१ १०:४४

यही भदौ १७ गते पाटन नगरपालिका–६, डुङराकी ५७ वर्षीय जानकी लुहारको करेन्ट लागेर मृत्यु भयो । घटना सेलाउन नपाउँदै भदौ २१ गते सुर्नया–८, बाच्पानीका १२ वर्षीय वसन्त बोहोराको बाख्रा चराउन वनमा गएका बेला भुइँनजिकै लत्रिएको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो । विद्युत् वितरण केन्द्रले छ लाख रुपियाँ क्षतिपूर्ति दिने सहमतिपछि परिवार र आफन्तले बालकको शव उठाए । 

बैतडीमा बर्सेनि करेन्ट लागेर मृत्यु हुने गरेका माथिका केही प्रतिनिमूलक घटना हुन् । विद्युतीय दुर्घटना भएको देख्दादेख्दै पनि चमेलिया जलविद्युत्को १३२ केभीको प्रसारण लाइनमुनि नै बस्ती विस्तार भइरहेको छ । अधिकांश ठाउँमा चमेलिया जलविद्युत्बाट मुआब्जा लिएर कैयौँ परिवारले घरजग्गा खाली गरेका छैनन् । बैतडीका चार वटा गाउँपालिकाका दर्जनौँ बस्ती र बजार क्षेत्रमाथिबाट चमेलिया जलविद्युत्का टावर र तार विस्तार भएका छन् ।  

प्रसारण लाइनको मापदण्ड अनुसार जमिन र तारको दुरी न्यूनतम सातदेखि १० मिटर उचाइ हुनुपर्ने भए पनि सतबाँझ बजार क्षेत्र वरपरको बस्तीमा मापदण्डभन्दा निकै नजिकबाट प्रसारण लाइनका तारमा विद्युत् प्रवाह भइरहेको छ । विद्युत्का टावर र तारमुनि घरजग्गा परेका प्रभावितलाई मुआब्जा बाँडिए पनि सर्वसाधारणले घर सारेका छैनन् । विद्युत्का टावर र तारमुनिको जग्गामा नक्सा पास नगरी नयाँ घरसमेत धमाधम निर्माण भइरहेका छन् । चमेलियाको विद्युत् विस्तार हुँदा टावर निर्माण भएका ठाउँको घरजग्गाको एक लाखदेखि दुई लाख रुपियाँसम्म मुआब्जा वितरण गरिए पनि मुआब्जा लिनेले घर सारेका छैनन् ।

बैतडीको डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका दर्जनौँ बस्तीमाथि प्रसारण लाइनको उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको छ । सुर्नया गाउँपालिका सतबाँझ बजार क्षेत्र र पाटन नगरपालिकाको खोड्पे बजारको शिवालय क्षेत्र वरपर जमिन र घरको छत नजिकबाट उच्च करेन्ट प्रभाव भइरहेका तारले दुर्घटनाको जोखिम बढाएको छ । चमेलिया जलविद्युत्को डबल सर्किटका टावरका तारमा अहिले १५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ । उच्च भोल्टेजको करेन्ट प्रभाव हुँदा ठुलो पानी परेका बेला विद्युतीय दुर्घटनाको जोखिम रहेको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख जनार्दन पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सतबाँझ बजार क्षेत्रमा विद्युत्को टावरमुनिको जमिन काटेर घडेरी बनाइरहेको पाइयो । स्थानीय तहले घरको नक्सा पास गरेर मात्रै नयाँ घर निर्माण गर्न दिनु पर्छ । टावर र तारमुनि घरजग्गा परेर मुआब्जा पाएकालाई दुर्घटनाबाट बचाउन नयाँ ठाउँमा सार्नु पर्छ । तार चुँडिएर वा पानी परेका बेला विद्युतीय दुर्घटनाको जोखिम छ ।”

गत वर्षको भदौ १८ गते चमेलिया जलविद्युत्को तारबाट भुइँमा करेन्ट प्रभाव हुँदा डिलासैनी गाउँपालिका–६, बाङ्गाबगरकी ४० वर्षीय कलावती नाथको मृत्यु भएको थियो । घाँसको भारीले बारी नजिकैमाथिबाट गएको तार छोइँदा गम्भीर घाइते नाथको हेलिकोप्टरबाट उद्धार गरी नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भयो । विद्युत् आधारभूत आवश्यकता भइसकेकाले विद्युतीय दुर्घटना हुन नदिन स्थानीय तहले निर्माण गर्ने शैक्षिक पाठ्यक्रममा विद्युतीय सचेतनाको विषय राख्नुपर्ने बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले सुझाव दिनुभयो ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु