कैलालीका दुई मजदुर १० दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा

छिनोफानो   बिहिबार २७, भदौ २०८१ १०:५७

भारत उत्तर प्रदेशको चन्दनचौकीमा काम गर्न गएका दुई नेपाली मजदुर अनाहकमा १० दिनदेखि भारतीय वन विभागको नियन्त्रणमा छन् । कैलालीको कैलारी गाउँपालिका– ३, शिवरत्नपुरका ६६ वर्षीय सलिफा डगौरा चौधरी र २८ वर्षीय सोनु गिरीलाई भारतीय वन विभागले पक्राउ गरी हिरासतमा राखेको हो ।

दुवैजना १७ भदौमा गाउँबाट नजिकै रहेको चन्दनचौकीस्थित एक व्यापारी (भक्ता भनिने)को मिठाई पसलको छानामा टिन (जस्तापाता) लगाउन गएका थिए । दिनको पाँच सय रुपैयाँ ज्याला दिने भनेर टिन लगाउनका लागि भक्ताले दुवैजनालाई बोलाएर लगेका थिए । उनीहरू पक्राउ परेको खबरपछि परिवारका सदस्य र केही स्थानीय चन्दनचौकीस्थित वन विभागको कार्यालय पुगेका थिए । तर, वन कर्मचारीले पक्राउ गर्नुको कारणबारे केही नबताएको सोनुकी श्रीमती पुनम चौधरीले बताइन् । 

‘किन पक्राउ गरेको भनेर वनका कर्मचारीलाई सोध्दा कारण बताएनन् । पैसा दिएर छुटाएर लैजाऊ भने, अरू कुरै गर्न मानेनन्,’ पुनमले भनिन्, ‘पक्राउ परेकालाई भेट्नसमेत दिएनन् ।’ उनका अनुसार सुरुमा एकजनाको दुई लाख रुपैयाँ भारु जरिवाना मागेका थिए । पछि एक–एक लाख रुपैयाँ बुझाउन भने पनि आफूहरूले रकम तिर्न नसकेको उनले बताइन् । ‘हामी मजदुरी गरेर गुजारा गर्ने मान्छे, त्यत्रो रकम कहाँबाट तिर्नु,’ उनले भनिन् ।

सलिफाकी बुहारी टीकाका अनुसार भारतीय वनरक्षक शिवचरण रानाले पैसा मागेका हुन् । ‘एक–एक लाख मागेका थिए, त्यत्रो पैसा दिन सकेनौँ, अहिले दुवैजनालाई लखिमपुर लगेको सुनिएको छ,’ टीकाले भनिन्, ‘वन कार्यालयमा हामीलाई जान पनि दिँदैनन् ।’ 

चन्दनचौकी भारतीय दुधुवा निकुञ्जको क्षेत्रमा पर्छ । वन क्षेत्रमा पर्ने ठाउँमा घर बनाउन आएको भन्दै पक्राउ गरेको चन्दनचौकीका स्थानीयबाट बुझिएको शिवरत्नपुरका भल्मन्सा दहिराम चौधरीले बताए । मजदुरीमा काम गर्न गएका मान्छेलाई काठसहित समातेको भनेर फसाउन खोजिएको उनले बताए । ‘पक्राउ गर्नुको कारण भनेका छैनन्, तर काठसहित समातेको भनेर मुद्दा बनाएको भन्ने सुनिएको छ,’ चौधरीले भने । भारतीय वनकर्मीले काठ तथा वन्यजन्तु तस्करी गरेकोलगायत आरोप लगाएर सीमावर्ती क्षेत्रमा नेपालीलाई पटक–पटक दु:ख दिने गरेको उनको भनाइ छ । 

कैलालीमा नेपाल–भारत सिमानामा मोहना नदी बग्छ । कैलारीमा भने शिवरत्नपुर, मोहनपुर र हौसलपुर मोहनापारि पर्छन् । स्थानीयका अनुसार शिवरत्नपुरमा ७५ परिवारको बसोवास छ । कैलारी– ३ का वडाध्यक्ष सन्तराम चौधरीले काम गर्न गएका नेपाली पक्राउ परेकोबारे गाउँपालिकामै रहेको सशस्त्र प्रहरीको प्रस्तावित गुल्मलाई जानकारी गराइएको बताए । ‘सशस्त्रलाई जानकारी गराएका थियौँ, उहाँहरूले हाम्रो कार्यक्षेत्र वन होइन भन्नुभयो,’ चौधरीले भने, ‘गाउँपालिका अध्यक्ष पनि अहिले विदेश हुनुहुन्छ, के गर्ने भन्ने अलमल छ ।’ विपन्न मजदुरलाई विनाकारण पक्राउ गरेको बुझिएको उनले बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने शिवरत्नपुरका दुई नेपालीलाई भारतीय वन विभागले पक्राउ गरेकोबारे आफूलाई जानकारी नआएको बताए । उनले आफूले यसबारे बुझ्ने बताए । ‘नेपालीलाई भारतीय वनका कर्मचारीले पक्राउ गरेको विषयमा मलाई अहिलेसम्म जानकारी छैन । अब थाहा पाएँ, के रहेछ बुझ्छु,’ उनले भने । 

विगतमा पनि हुने गरेको थियो अत्याचार
शिवरत्नपुरबाट चन्दनचौकी करिब दुई किलोमिटरको दूरीमा पर्छ । शिवरत्नपुर गाउँ र भारतीय दुधुवा नेसनल पार्क जोडिएको छ । भारतीय वन छेउछाउमा शिवरत्नपुरका स्थानीयले गाईवस्तु चराउने गर्छन् । त्यसबापत गाउँलेले वन कर्मचारीलाई बर्सेनि प्रतिघर चार सय रुपैयाँ उठाएर दिने गरेका थिए । भारतीय वन कर्मचारीले अनावश्यक पक्राउ गरेर दु:ख दिन थालेपछि गत वर्षबाट भने स्थानीयले पैसा दिन छोडेका थिए । पैसा दिन छोडेपछि भारतीयको ज्यादती बढेको स्थानीयको गुनासो छ ।

गत वर्ष बर्खामा दुधुवा निकुञ्जको नालामा बल्छी लगाएर माछा मार्ने क्रममा शिवरत्नपुरका रामप्रसाद चौधरीलाई भारतीय वनका कर्मचारीले पक्राउ गरेका थिए । गाउँका भल्मन्सा चौधरीका अनुसार दुई लाख ९० हजार भारु जरिवाना तिरेपछि भारतीय वन विभागले उनलाई छोडेको थियो । ‘विनाकारण पक्राउ गरेर जरिवाना तिराउन थालेपछि गत वर्षबाट हामीले पैसा उठाएर दिन छोड्यौँ,’ भल्मन्सा चौधरीले भने, ‘पैसा दिन छोडेपछि झन् दु:ख दिन थालेका छन् ।’ 

सीमामा बस्ने नेपालीलाई भारतीय वनकर्मीले अनावश्यक दु:ख दिँदै आएको कैलारी– ३ का वडाध्यक्ष सन्तराम चौधरीले बताए । ‘नाला, खोल्साखाल्सामा घोँगी टिप्ने, माछा मार्ने गर्दा पनि पक्राउ गरेर दु:ख दिने गरेका छन्,’ उनले भने, ‘यसबारेमा सुरक्षा निकायमा पनि हामीले पटक–पटक कुरा उठाउँदै आएका छौँ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु