भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी ६५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पले इपिसेन्टर जगन्नाथमा सबैभन्दा बढी २८५ वटा सरकारी भवन र चार वटा निजी घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ । यसै गरी बुढीनन्दा नगरपालिकामा १८ वटा निजी घर, ११४ वटा सरकारी भवन, हिमाली गाउँपालिकामा १२१ वटा सरकारी भवन, स्वामीकार्तिक गाउँपालिकामा सात निजी घर र १३५ सरकारी भवनमा पूर्ण क्षति भएको जनाइएको छ ।
भूकम्पका कारण ६२६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ । क्षतिको यो विवरण भूकम्प गएको २४ घण्टाभित्र तयार पारिएको प्रतिवेदन अनुसारको रहेको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका गौरी बुढाथोकीले बताउनुभयो । “यसमा अझै थपघट हुन सक्छ,” उहाँले भन्नुभयो ।
भूकम्पबाट ६५५ परिवार प्रभावित भएका छन् । केन्द्रका अनुसार जगन्नाथका २८५, बुढीनन्दा नगरपालिकाका ११४, हिमाली गाउँपालिकाका १२१ र स्वामीकार्तिक गाउँपालिकाका १३५ परिवार भूकम्पबाट प्रभावित भएका छन् । २९ घरपरिवार विस्थापित भएका छन् । घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उनीहरू विस्थापित भएका जनाइएको छ ।
जगन्नाथका चार, बुढीनन्दा नगरपालिकाका १८ र स्वामीकार्तिक गाउँपालिकाका सात परिवार विस्थापित भएको केन्द्रले जानकारी दिएको छ । विस्थापितसहित भूकम्प प्रभावितको जनजीवन कष्टकर बनिरहेको जनाइएको छ । प्रभावितका लागि ६५५ वटा त्रिपाल, त्यति नै कम्बल र गुन्द्री तत्काल आवश्यक रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट मानवीय क्षति नभएको तर एक जना घाइते भएका केन्द्रले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस