बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बस्न बाध्य छन् । लगातार तीन वर्षसम्म गएका भूकम्पले घर चर्किएका छन् । त्यही घरमा बस्न उनीहरू बाध्य छन् । पछिल्लो भूकम्प पुस ६ गते गएको थियो ।
भूकम्पले घर चर्किएर जोखिममा परेको भए पनि उनीहरूलाई अहिलेसम्म कुनै वैकल्पिक आवासको व्यवस्था नभएपछि त्यही घरमा बस्न बाध्य भएका हुन् । पहिला गएको भूकम्पले चर्किएको घर अहिले त्यसैमा फेरि चिरा चिरा परेको छ । बाहिर चिसो भएपछि अहिले यसै चर्किएको घरमा बस्न बाध्य भएको जगन्नाथ गाउँपालिका–५ का गइकला दमाईले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले घर चर्किएको भए पनि आफूसँग अन्य केही व्यवस्था नहुँदा यसै घरमा बास बस्ने गरेकी छु ।
बाहिर बसौँ चिसो छ । भित्र बसौँ फेरि भूकम्प आएर च्यापिने चिन्ता छ । अन्त जाऊँ कतै ठाउँ छैन ।” बाहिर चिसो भएकाले ज्यान जोखिममा राखेर यसै घरमा बास बस्न बाध्य भएको दमाईले बताउनुभयो । गौमूल, हिमाली, बुढीगङ्गा, बडीमालिकालगायतका अधिकांश घर २०७९ माघ १० गतेको भूकम्पले चिरा चिरा पा¥यो । अहिले फेरि यही पुस ६ गते गएको भूकम्पले जगन्नाथ गाउँपालिकामा झन्डै १२३ घर जोखिममा रहेका छन् ।
यहाँका अधिकांश गाउँमा प्रायः माटो र ढुङ्गाले घर निर्माण गर्ने गर्छन् । यहाँ पटक पटक गएको भूकम्पले पनि यिनै घरमा क्षति गर्ने गरेको छ । यहाँका स्थानीयलाई अहिलेसम्म भूकम्पले चर्किएको घरमा ज्यान जोखिममा राखेर बास बस्नु परेको छ । लामो समयसम्म पुनः निर्माणको काम नभएपछि उनीहरूलाई अहिले चिसोमा पनि चर्किएको घरमा बास बस्नु परेको हो । घर सबै चिरा चिरा परेका छन् । उनीहरूलाई त्यो घरमा बास बस्न समस्या छ । अहिले उनीहरूलाई तत्काल त्रिपालको व्यवस्था गरेको भए पनि उनीहरूलाई घरबासका लागि भने समस्या भएको जगन्नाथ गाउँपालिका–५ का वडाध्यक्ष गौरी सार्कीले बताउनुभयो ।
पुस ६ गते गएको भूकम्पले घर क्षति भएकालाई अहिले त्रिपाल भाँडावर्तनको वितरण गरेको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराका संयोजक तथा बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७९ सालमा गएको भूकम्पले यहाँका धेरै घरमा क्षति भएका छन् । उनीहरूले पनि पहिलादेखि अहिलेसम्म घरबास व्यवस्थाका लागि माग गर्दै आएका छन् । यहाँका भूकम्पपीडितको घरबासका लागि गृह मन्त्रालयसँग १५ करोड रुपियाँ माग गरेको बताउँदै उहाँले उताबाट त्यो रकम आएपछि पीडितका लागि अस्थायी टहराको व्यवस्था गरिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस