लालपुर्जाको प्रतीक्षामै बित्यो चार दशक

छिनोफानो   सोमबार १५, पुष २०८१ ०१:४८

करण नेपाली डोटीबाट तराई झरेको ४२ वर्ष पुग्यो । कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ मा उहाँको साढे दुई कट्ठा जमिन छ तर त्यसको लालपुर्जा छैन । “जग्गाको लालपुर्जा पाउने आसमा चार दशक बितिसक्यो,” उहाँले भन्नुभयो, “अहिलेसम्म पाइएको छैन । वडामा जग्गाको तिरो मात्रै तिर्नु पर्छ ।” जग्गाको लालपुर्जा नहुँदा करणले कतैबाट ऋण पाउने वा जग्गा धितो राखेर कुनै व्यवसाय गर्ने बाटो रहेन । बाध्य भएर उहाँ मुग्लानतिर धाउनु परेको छ । 

“यहाँ केही सिप नचलेपछि सपरिवार कामको खोजीमा मुम्बई लाग्यौँ,” आफन्त बितेपछि काजकिरियामा आएका नेपालीले भन्नुभयो, “अचेल उतै काम गर्ने गरेको छु । लालपुर्जा भए ऋण सापटी लिएर यहीँ केही गर्न सकिन्थ्यो कि ।” करण नेपाली जस्तै कैयौँ दशकदेखि केगाउँमा बसिरहेका धेरै परिवार लालपुर्जाविहीन छन् । २०३९ सालमा पुनर्बास कम्पनीले त्यहाँ केही परिवारलाई जग्गा दिएको थियो । त्यसबेलादेखि बसिरहेका झन्डै ३६ परिवारले हालसम्म जग्गाको लालपुर्जा पाएका छैनन् । उनीहरूको दुईदेखि चार कट्ठासम्म जमिन छ तर लालपुर्जा छैन । त्यो जग्गा उपभोग गर्दै आएको चार दशकभन्दा बढी भइसकेको छ । 

जग्गाको लालपुर्जा नहुँदा धेरै कठिनाइ भोग्नु परिरहेको कृष्णा नेपालीले बताउनुभयो । “जग्गाको पुर्जा छैन । बैङ्कबाट ऋण पाइँदैन,” उहाँले भन्नुभयो, “बालबच्चा पढाउनदेखि लिएर गुजाराका लागि श्रीमतीसहित बैकाल (पुरुष) मजदुरी गर्न भारततिर जानु परेको छ ।” जग्गाको लालपुर्जा नपाउनेमा सबै दलित नै रहेको स्थानीय चन्द्र सोडारीले बताउनुभयो । उहाँका अनुसार पुनर्बास कार्यक्रममार्फत बसेका ८४ परिवारले त्यसबेलै जग्गाको लालपुर्जा पाए । बाँकी परिवार अहिलेसम्म लालपुर्जाविहीन छन् । 

“पहाडबाट यिनीहरू लखेटिएर यहाँ आएका हुन्,” सोडारीले भन्नुभयो, “यता आउँदा पनि केही ठेगान छैन । अलि अलि जग्गा बनाएका छन् तर लालपुर्जा छैन । भारतमा मजदुरी गरेर गुजारा चलाउनु परेको छ ।” लामो समयदेखि ऐलानी जग्गा उपभोग गर्दै आएका भूमिहीन, दलित, अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा दिनका लागि सो पालिकामा निस्सा वितरणको कार्य अढाई वर्षअगाडि नै सुरु गरिएको थियो । वडा नम्बर ४ मा भने निस्सा वितरण हुन बाँकी रहेको जनाइएको छ ।    

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु