आगामी यात्राबारे आन्तरिक छलफलमा रावल- भेटे स्वतन्त्र सांसद जोशी र कांग्रेस बीपी उपसभापति मल्ल

छिनोफानो   सोमबार १५, पुष २०८१ ०२:१८

काठमाडौं । नेकपा एमालेबाट निकालिएका भीम रावलले आन्तरिक भेटघाट बढाएका छन् । नयाँ पार्टी घोषणा गरेर जानेसम्मको विकल्पमा नेता रावलले आफू निकटका नेताहरुसँग छलफललाई तीव्र बनाएका हुन् ।

रावलले आज नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरेका छन् । दुई नेताले रावल निवास टोखामै पुगेर भेट गरेका हुन् ।

दुई नेतासँगको भेटबारे जानकारी दिँदै रावलका सहयोगी गोविन्द दुवालले फेसबुकमा लेखेका छन्, ‘भनिन्छ नयाँ कामको थालनी गर्दा शुभ आरम्भ वा शुभारम्भ हुनुपर्छ र भविष्य पनि सुनौलो हुन्छ ।’

रावलसँग भेटेका मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति हुन् भने जोशी नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । गएको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि सुदूर पश्चिम प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

नेता रावलले आगामी यात्राबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन पनि राखेका छन् । एमालेबाट निष्कासित भएपछि कुरा गर्दै नेता रावलले एमालेमा ओलीबाट आजित भएकाहरुलाई साथ लिएर अघि बढ्ने बताएका थिए ।

आफू निकटहरुसँग छलफलमा रहेको भन्दै उनले भनेका थिए, ‘एमालेमा देशभक्त, केपी ओलीको स्वेच्छाचारी, निरंकुश तानाशाही आचरणबाट आजित भएकाहरु, अपराधी र देशघातीहरुलाई च्याप्ने र देशभक्त र इमानदारलाई पार्टीमा काम गर्न नदिएर किनारा लगाउने क्रियाकलाप छ । त्यसका विरुद्ध उभिनेछन् भन्ने मैले विश्वास गरेको छु । अब सबैको भावनालाई समेटेर अगाडि बढ्छु ।’

नेता रावलले देशव्यापी रुपमा कार्यकर्ताहरु, कैयौं स्वतन्त्र व्यक्तिहरु, नागरिक समाज, देशभक्तहरु जोडिइसकेको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु