काठमाडौं । बत्तिस वर्षको उमेरहद लगाउने कि नलगाउने भनेर नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा भएको मतदान विवादित बनेको छ ।
शनिबार डडेलधुरा बाहेकका जिल्लामा मतदान भएको थियो । त्यसको नतिजा सार्वजनिक हुन सकेको छैन ।
उमेरहद लगाउनुपर्ने पक्षमा नतिजा आउने भएपछि उमेरहदको विपक्षमा रहेकाले असन्तुष्टि जनाउँदै मतपरिणाम अस्वीकार गर्ने जनाएका छन् ।
गुल्मी, दाङलगायत जिल्लामा उजुरी परेको छ । केही जिल्लामा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीको पनि मत खसेको विषयमा पनि विवाद भएको छ ।
स्रोतका अनुसार, उमेरहद लगाउनुपर्ने पक्षमा मत बढी आएको छ । कोसी प्रदेशबाट अत्यधिक मत उमेरहदको पक्ष र लुम्बिनीबाट विपक्ष मत आएको छ । गण्डकीमा उमेरहदकै पक्षमा मत बढी आएको छ । अन्य प्रदेशबाट भने मिश्रित नतिजा आएको स्रोतले जनाएको छ ।
“उमेरहदको पक्षमा नतिजा आउने भएपछि उमेरहद लगाउन हुँदैन भन्नेहरूले कतिपय ठाउँमा फेक मतदान भयो भनेर किचलो गर्नुभएको छ,” एक विद्यार्थी नेताको दाबी छ ।
विद्यार्थीहरूले परिणाम छिटो सार्वजनिक गर्न आग्रह गरेका छन् । कानुन विभाग प्रमुख विराज थापाले मत परिणाम छिटो सार्वजनिक नर्गदा अन्योल पैदा भएको बताए ।
“नतिजा सार्वजनिक नगर्दा अन्योल छाएको छ । मतदानमा जे परिणाम आएको छ, त्यो छिट्टै सार्वजनिक हुनुपर्छ,” उनी भन्छन् ।
अखिल क्रान्तिकारीको अधिवेशन नै उमेरहदको विषयमा विवादित भएपछि स्थगित भएको थियो । पार्टी नेतृत्वले विद्यार्थीको विषय उनीहरूले नै टुंग्याउने भन्दै उमेरहदको फैसला गर्न भनेको थियो । तर, विवाद भएपछि विषय नेतृत्वमा नै पुगेको छ ।
मुक्ति प्रधान प्रमुख रहेको निर्वाचन समिति पार्टी अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'सँग परामर्शका लागि पेरिसडाँडा पुगेको छ ।
प्रधानले केही जिल्लाबाट नतिजाको कागजपत्र आउन ढिलाइ भएकाले परिणाम सार्वजनिक नभएको बताए । “केही जिल्लाबाट मत परिणामको कागजपत्र आइपुगेको छैन । आएपछि सार्वजनिक हुनेछ,” प्रधान भन्छन् ।
प्रतिकृया दिनुहोस