परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिँदा उपयुक्त हुन्छ : ओली

छिनोफानो   मङ्गलबार ०९, कार्तिक २०७८ ०२:०४

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्। 

मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एक जनाले मात्र नभइ पाँच जनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी गरेका हुन्।

‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ। न्यायाधीशहरू कसले के के गर्‍यो भनेर उधिन्न थालेका छन्। उधिन्दै जाँदा केके कुराहरू निक्लिन थालेको छ‚’ अध्यक्ष ओलीले भने‚ ‘परमादेश एक जनाले गरेको होइन। पाँचै जनाले गरेको हो। किन एक जनाको राजीनामा माग्नुहुन्छ? पाँचै जनाले राजीनामा गर्दा उपयुक्त होइन र? तपाईंहरूको निर्णयको सुगन्ध दुर्गन्ध म भन्न चाहन्नँ।’ 

संविधानमै नभएको असंवैधानिक कदम चालेर एमालेविरुद्ध नाङ्गो नाच देखाएको आरोप लगाए। कानुन व्यवसायीहरूले कानुन र संविधान जान्नुपर्ने उनले टिप्पणी गरे। लोकतन्त्र र संविधानको रक्षा गर्ने अहिलेको प्रमुख दायित्व भएको अध्यक्ष ओलीले बताए। 

‘कुन पक्ष हार्‍यो कुन पक्ष जित्यो भन्ने मेरो चिन्ता होइन। लोकतन्त्र जित्नुपर्छ‚’ ओलीले भने, ‘न्यायपालिकाले जनताप्रति विश्वास गुमाउन थालेको छ। अहिले अदालतबाट न्याय पाइन्छ भन्ने केही छ र? न्यायपालिकालाई राजनीति गर्ने थलो बनाएपछिका अहिले देशमा यस्तो परिणाम आएको हो।’ 

अध्यक्ष ओलीले एमालेले एक्लैले विकासको बाटो तय गरेको दाबी गर्दै अहिले पाँच दलीय गठबन्धनका सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए। सरकार पूर्ण रुपमा असफल भएको उनको आरोप छ। 

‘तीन वर्ष लगाएर नेकपा एमालेलाई हटाए। सरकार बनाउन रोक्ने प्रयास भएको थियो। त्यसपछि ढालिहाल्न खोजेका थिए। सकेनन्‚’ उनले भने‚ ‘अस्थायी रुपमा साढे तीन वर्षपछि ढाले‚ त्यो पनि परमादेशबाट। हामीले केही समयमा निर्वाचनपछि फेरि सरकारमा एक्लै जान्छौँ।’ 

सभामुख अग्निप्रसाद सापकोटाको असंवैधानिक कदमकै कारणले अहिले संसद चल्न नसकेको ओलीले आरोप लगाए। ताजा जनादेशमा जान रोक्नु भनेको सूर्यलाई हत्केलाले छेकेजस्तो भएको उनको भनाइ छ। चुनावतर्फ पार्टी गइसकेको भएकाले पार्टीले बहुमत ल्याउने वातावरण तयार गर्ने निर्देशन समेत दिए।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु