संसदीय समितिद्वारा दार्चुला–तिङ्कर सडकको निरीक्षण

छिनोफानो   शुक्रबार १२, कार्तिक २०७८ ०३:०५

दार्चुला । संघीय संसदको विकास तथा प्रविधि समितिको एक टोलीले महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिङ्कर सडकको निरीक्षण गरेको छ । शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली दार्चुला आएर सो सडक निरीक्षण गरेको हो ।

दार्चुलाका प्रहरी नायव निरीक्षक (डिएसपी) मनोहर भट्टकाअनुसार टोलीले हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगादेखि व्यास गाउँपालिका–१ छाङरु र छाङरुबाट सुन्सेरा हुँदै खलंगासम्म सडक क्षेत्रको निरीक्षण गरेको छ ।

सदरमुकाम खलंगामा प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुसँग भेटी टोली शुक्रबार नै बझाङको चैनपुर, खप्तड हुँदै साँझ सुर्खेत फर्किने कार्यक्रम रहेको छ । विकास तथा प्रविधि समितिको टोलीले दार्चुला–तिङ्कर सडकको अनुगमन र व्यास गाउँपालिका–१ छाङरुका स्थानीयसँग विविध विषयमा छलफल गरेको छ ।

छाङरुबाट फर्किदा व्यास गाउँपालिकाको सुन्सेरास्थित नेपाली सेनाको ब्यारेकबाट सडक निरीक्षण गरिएको छ । एक सय ३४ किलोमिटर लामो दार्चुला–तिङ्कर सडकको ८७ किलोमिटर सडकको ट्रयाक नेपाली सेनाले खोलिरहेको छ । सरकारले गत बर्ष सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेअनुसार सडकमा चालु आर्थिक बर्षबाट सेनाले काम थालेको छ ।

हालसम्म खलंगादेखि सुन्सेरासम्मको ४३ किलोमिटर सडकमा सडक आयोजनाले ट्रयाक खुलाएको छ । बर्षाकाकारण बाढीपहिरो आएर ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दुहुँ र व्यसबासी अहिले पैदलयात्रा गर्न बाध्य छन् । सडक पुगेको ठाउँमा समेत यातायातका साधनहरु चलाउन सकिने अवस्था नभएकाले यात्रा गर्न, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नुपरेको यातायात व्यवसायी चक्रबहादुर बमले बताउनुभयो ।

खलंगादेखि लास्कुखोला, कलौन भिर, श्रीबगड लगायत ठाउँमा सडक अवरुद्ध बनेको छ । भदौँ महिनाको बाढीपहिरोले श्रीबगडमा निर्माण गरिएको मोटर पुल समेत बगाएपछि तत्काल सडक सुचारु गर्न सकिने सम्भावना नरहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु