तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ०९:१७

कात्तिक । चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ ।

तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ ।

“वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन”, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, “किसानका खेतबारीमा वर्षाले केही बाँकी राखेन । तरकारीको अभाव भएसँगै मूल्य आकाशिएको छ । माग धेरै छ, आपूर्ति थोरै छ । त्यसैले मूल्यवृद्धि भएको छ ।”

तरकारीको स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य थोरै हुने गरेको थियो । नब्बे प्रतिशत तरकारी वर्षाले बर्बाद पारेपछि उपभोक्ताको माग धान्नै गाह्रो रहेको उहाँले बताए । “केही तरकारी पहाडी जिल्लाबाट निर्यात भएर आउथ्यो । केही स्थानीय उत्पादन हुन्थ्यो र केही तरकारी भारतबाट आउने गरेको थियो”, उनले भने, “त्यसैले मूल्य थोरै हुन्थ्यो । हाल भारतीय तरकारीले मात्रै यहाँको बजार धान्दै आएको छ ।”

हाल ८० प्रतिशत तरकारी भारतबाट तथा १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ । पाँच प्रतिशत तरकारीमात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन हुने गरेको थियो ।

बीस प्रतिशत तरकारीमात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानीरूपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यवृद्धि भएको हो । भारतबाट हाल दैनिक पाँचदेखि ६ ट्रक तरकारी आयात हुन्छ ।

बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् । हाल बजारमा रु ३० प्रतिकिलोका दरले बिक्री हुने सेतो आलु रु ५०, रु ३५ मा बिक्री हुने रातो आलु रु ६०, रु ६० मा बिक्री हुँदै आएको पहाडी आलु रु ८० मा बिक्री भइरहेको छ 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु