सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ०२:५८

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाण्डाै नै जानुपर्ने बाध्यता रहेको छ ।

डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शय्यामा ज्यान गुमाइरहेका छन भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् । अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधि पनि नपाइदा बिरामीहरू चर्को मूल्य तिरेर निजी फार्मेसीबाट औषधि खरिद गर्न बाध्य छन् ।

प्रदेशकाे एक मात्र स्थान सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् । ६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ । झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागी सामान्य औषधि समेत नपाइँदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पताल सँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनी हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् । एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउनुहुन्छ । सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाण्डाै अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै 'किड्नी फेल' हुने क्रम बढेकोे विभिन्न अध्ययनहरुले देखाएका छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न भने बिरामीले नै खर्च बेहाेर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु