प्रधानन्यायाधीशले राजीनामा दिन ढिला गरे 'असम्मानजनक बहिर्गमन' हुन्छ : नेता पाैडेल

छिनोफानो   मङ्गलबार १६, कार्तिक २०७८ ०३:०७

काठमाण्डौ – सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दबाब दिनुभएको छ । वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पार्नुभयो । 

नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले आज मङ्गलवार बिहान हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उहाँले छिटो राजीनामा दिनुपर्ने धारणा राख्नुभयो । 

वरिष्ठ नेता पौडेलले ढिलाइ गर्दै गए उहाँको बर्हिगमन अपमानजनक हुने तर्क गर्नुभयो । उहाँले प्रधानन्यायाधीशसँग ‘सेटिङ’ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारेको, संविधानको आत्मामाथि नै प्रहार गरेको आरोपसमेत लगाउनुभयो । 

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘अरू संस्था त ध्वस्त भए, भए । देशको एउटा नागरिकको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ । सर्वोच्च अदालतको यो हाल भइरहेको छ । प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नुभयो–ल ल म छोड्न त छोड्छु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुहोस् । मैले त हिजो भन्दिए– जति छिटो छोड्नु हुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोड्नु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईँको । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन् । सेटिङ गर्नुभएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरू सेटिङ गर्ने अदालतसित, प्रधानन्यायाधीशसँग सेटिङ गर्ने । तँलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु, आयुक्त दिन्छु, मेरो कुरा मान्, मैले संवैधानिक परिषद्लाई ध्वस्त पारेको पनि मान् । संविधानको आत्मामाथि प्रहार गरेको साक्षी बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन ? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ ? यो अवस्थामा देश किन पुग्यो ?’

फरक प्रसङ्गमा उहाँले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताउनुभयो । त्यसका लागि पुस्तान्तरण नभइ नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उहाँको तर्क थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु